काठमाडौं । नेपाल र भारतबीच पञ्चेश्वर बहुद्देश्यीय आयोजना निर्माणको विषयलाई तीव्र गतिमा लैजाने सहमति भएको छ ।
भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले गरेको संयुक्त पत्रकार सम्मेलनमा पञ्चेश्वर बहुद्देश्यीय आयोजनालाई तीव्रताका साथ अघि बढाइने सहमति भएको हो ।
पत्रकार सम्मेलमा नेपालका प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर बहुद्देश्यीय आयोजना निर्माणलाई तीव्रता दिने विषयमा सहमति भएको बताए । प्रचण्डले डीपीआर आगामी तीन महिनाभित्रै सम्पन्न गरेर निर्माण प्रक्रिया अघि बढाउने विषयमा सहमति भएको उनले जानकारी दिए ।
‘प्रधानमन्त्री मोदीजी र मैले पञ्चेश्वर बहुद्देश्यीय आयोजनालाई तीव्रता दिने विषयमा सहमति जनाएका छौं,’ उनले भने, ‘डीपीआर तीन महिनामा सकिनेछ । यसका लागि हामीले आ-आफ्ना देशका सम्बन्धित अधिकारीलाई निर्देशन पनि दिइसकेका छौं ।’
डीपीआर पूरा भएको एक वर्षभित्रमा आयोजनाको मोडालिटीका विषयमा दुई देशबीच छलफलमार्फत निर्णय गरिने प्रचण्डले बताए ।
SHARE YOUR THOUGHTS