
काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क: लंकापेसँग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेको छ ।
यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्वाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउने कम्पनीले जनाएका छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमार सापकोटा र लंकापेका सीईओ चन्ना डि सिल्भाले समझदारी पत्र(एमओयु)मा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरि प्रमुख निलुषा दिलमिनीको विशेष उपस्थिति रहेको थियो भने एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजि डिरेक्टर डेनियल डि. श्रेष्ठ र फोनपेका अध्यक्ष विश्वास ढकालको उपस्थिति रहेको थियो ।
यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि अत्यन्त प्रभावकारी हुने कम्पनीको विश्वास छ । श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, श्रीलंका जाने नेपाली नागरिकहरूले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । यस पश्चात फोनपे वा लंकापे मध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन् ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, “यो सहकार्य भनेको नयाँ अवसरहरू विस्तार गर्न, वित्तीय समावेशीकरण बढाउन र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । यो सहकार्यले, नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नको लागि मद्दत पुर्याउने छ । यो साझेदारी हाम्रो लागि निकै महत्त्वपूर्ण छ । हामीले नेपालमा मात्र नभई हाम्रो सबैभन्दा नजिकको दक्षिण एसियाली देश श्रीलंकामा पनि क्रसबोर्डर डिजिटल भुक्तानीलाई छिटो, सुरक्षित र सजिलो बनाउन मद्दत गर्नेछौं ।’
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै, लंकापेका प्रमुख कार्यकारी अधिकृत सिल्भाले भने, ‘हामी फोनपेसँग अन्तरआबद्धताको यो यात्रा सुरु गर्न पाउँदा हर्षित छौं । यो साझेदारी, श्रीलंकामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्त्वपूर्ण कोसेढुङ्गा सावित भएको छ । यो रणनीतिक साझेदारीले हाम्रा ग्राहकहरूको लागि सहज र समावेशी भुक्तानीको वातावरण सिर्जना गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ । हाम्रा सम्बन्धित प्लेटफर्महरूबीचको दुरी घटाई, हामी नयाँ सम्भावनाहरू खोल्दैछौँ जसले व्यक्ति र व्यवसायहरूलाई सहज रूपमा भुक्तानी कारोबार गर्ने वातावरण बनाउँछ ।’
SHARE YOUR THOUGHTS