काठमाडौं । सेयर लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेपछि धितोपत्र दलाल व्यवसायीहरुले विरोध गरेका छन् ।
स्टक ब्रोकर एसोशिएसन अफ नेपालले विज्ञप्ति जारी गर्दै लगानीकर्ताले गरेको गैह्र जिम्मेजार काम प्रति विरोध जनाएको छ ।
‘लगानीकर्ताहरुबाट आएको धम्की तथा चेतावनीका कारण आगामी दिनहरुमा निर्वाध रुपमा कार्यालय खोली व्यवसाय र कारोबार सञ्चालन गर्न व्यवसायीहरुले असहज तथा कर्मचारीहरुले असुरक्षित महशुस गरेको प्रति सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौं’ एसोसिएसनले विज्ञप्ति जारी गर्दै भनेको छ ‘आगामी दिनमा निर्वाध रुपमा कार्यालय र कारोबार सञ्चालन गर्ने वातावरण मिलाई दिनुहुन नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड लगायत अन्य सम्पूर्ण सरोकारवालाहरुसँग हार्दिक अनुरोध गर्दछौं ।’
सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने विधेयक, २०८० जारी भएपछि उक्त विधेयकका केही दफाहरुलाई लिएर केही लगानीकर्ताहरु आन्दोलन गर्दै बिहीबार क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज लगायतमा कारोबार भइरहेको समयमा कार्यालय बन्द गराएका थिए ।
‘लगानीकर्ताहरुको समूह विभिन्न धितोपत्र दलाल व्यवसायीहरुको कार्यालयहरुमा आई कार्यालय बन्द गराउँदै हिडेका तथा आगामी आईतबारदेखि आन्दोलनका मागहरु पूरा नभएसम्म दोस्रोबजार कारोबार बन्द नगरेमा जस्तोसुकै क्षती हुनसक्ने र उक्त क्षतीको जिम्मेवारी स्वयं व्यवसायीले नै लिनुपर्ने चेतावनी समेत दिएको प्रति पनि यस संघको गम्भिर ध्यानाकर्षण भएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पूँजीबजारले सूचनाको आधारमा प्रतिक्रिया गर्ने भएकोले पूँजीबजारको संवेदनशीलता, बजारको सन्तुलित विकास, लगानीकर्ताहरुको आत्मविश्वास तथा समग्र लगानीको वातावरणमा पार्ने दिर्घकालीन प्रभाव आदि पक्षलाई समेत ध्यानमा राखी पूँजीबजार सम्बन्धी कुनै पनि नीति नियम तर्जुमा गर्दा सरोकारवाला सबै पक्षहरुसँग गहन छलफल गरि स्थिर र स्पष्ट नीति नियम निर्माण गर्ने अभ्यासको थालनी गरिदिनुहुन पनि सम्बद्ध सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।
SHARE YOUR THOUGHTS