काठमाडौं। नेपाल वनस्पति घ्यु तेल उद्योग उत्पादक संघका अध्यक्ष विकास दुगडले भन्सार महशुल बढाउने सरकारको नीतिले २६ उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताएका छन् ।
भारतबाट चोरी तस्करी भएर खानेतेल भित्रीएको अवस्थामा १ प्रतिशत रहेको भन्सार महशुललाई बजेटले १० प्रतिशत बनाएकाले नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिस्पर्धा गर्न नसक्ने दुगडले बताए ।
‘सरकारले हाम्रो समस्या समाधान गर्छ भन्ने विश्वास छ’ दुगडले भने,’गत वर्ष पनि सरकारले हाम्रो माग सम्बोधन गरेको थियो। यो वर्ष पनि घ्यु तेल उद्योगीको माग सुन्छ भन्नेमा ढुक्क छौं ।’
भारत सरकारले कच्चा तेलको भन्सार महशुल घटाएको अवस्थामा नेपाल सरकारले कच्चा तेलको भन्सार बढाउनु उपयुक्त नभएको उद्योगी अमित मोरले बताए ।
भन्सार महशुल १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) तिरेर नेपाली उद्योगले व्यापार गर्न नसक्ने भन्दै मोरले तत्काल भन्सार महसुस घटाउन माग गरे।
‘नेपाली बजारमा बार्षिक ३ लाख टन खानेतेलको माग छ । भन्सार महशुल १ प्रतिशत हुँदा पनि नेपाली उद्योगले अहिले सम्म २ लाख टनमात्रै तेल बिक्री गर्न सकेका छ,’ मोरले भने ‘चालु आर्थिक वर्षको १० महिनामा ५० हजार टन खाने तेल अवैध माध्यममा भित्रीएको हाम्रो अनुमान छ । अबैध तेलले बजार कब्जा गरिरहेको अवस्थामा भन्सार महशुल बढ्ने हो भने नेपाली उद्योग टिक्कै सक्दैनन्।
सरकारले भन्सार महसुस १ प्रतिशत र भ्याट १३ प्रतिशत नगर्ने हो भने नेपाली उद्योग बन्द हुने र नेपाली बजार तस्करीको खानेतेलले कब्जा गर्ने मोरको दाबी छ ।
नेपाल परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले देशमा रोजगारी सिर्जना महत्त्वपूर्ण योगदान दिने घ्यु तेल उद्योगलाई संरक्षण गर्ने गरि भन्सार महशुल घट्नु पर्ने माग गरे।
SHARE YOUR THOUGHTS