असारमा कर्जाको ब्याजदर घट्ने, निक्षेपको के होला ? « Eglish Khabarhub

असारमा कर्जाको ब्याजदर घट्ने, निक्षेपको के होला ?



काठमाडौं । असारमा बैंक वित्तीय संस्थाले कर्जाको ब्याज घटाउने भएका छन् ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर बैशाखमा घटेर १२.६ प्रतिशत पुगेको छ ।

असारमा उक्त ब्याजदर घटेर १२.३ प्रतिशत पुग्ने अनुमान छ ।

बैशाख र जेठमा निक्षेपको ब्याजदर घटेकाले असारमा बैंकको आधारदर ०.२४ प्रतिशत बिन्दुले घट्ने कर्जाको ब्याजदर सोही अनुपातमा घट्ने एक बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

चैत महिनामा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर बैशाखमा घटेर १०.२२ प्रतिशत पुगेको छ । असार महिना आधार दर घट्दै १० प्रतिशत भन्दा मुनी पुग्ने बैंकरहरुको आंकलन छ ।

‘निक्षेपको ब्याजदर स्थीर राख्ने वा घटाउने भन्ने विषय छलफलको क्रममा छ,’ ती प्रमुख कार्यकारी अधिकृतले भने,‘निक्षेपको ब्याजदर बढ्दैन् भन्ने निश्चिछ । तत्कालै निक्षेपको ब्याज घटाउनु भन्दा केही महिना स्थीर राख्नु पर्छ भन्ने पक्षमा हामी छौं ।’

सरकारले आगामी वर्ष मुल्यवृद्धि ६.५ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएका ब्याजदर घटाउने स्पेश भए÷नभएको विषयमा अध्ययन गर्नु नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बताउँछन् ।

‘सिद्दान्तले महँगी घटाउन ब्याजदर बढाउनु पर्छ भन्छ । तर, हाम्रो अर्थतन्त्र आयातमा आधारित छ,’ नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी भन्छन्,‘अन्तर्राष्ट्रिय बजारमा बस्तु तथा सेवाको मुल्य बढ्यो भने हामीले ब्याजदर महँगो बनाउँदा पनि महँगी नियन्त्रण भित्र नआउन सक्छ । त्यसले अहिले नै निक्षेपको ब्याजदर के गर्ने भनेर भन्न सकिने अवस्था छैन ।’

अहिले ७.९ प्रतिशत रहेको महँगी ६.५ प्रतिशतमा ल्याउनु पर्ने लक्ष्य राखेका अर्थमन्त्री डा. प्रकाशशरण महत ब्याजदर घट्नु पर्ने पक्षमा छन् ।

‘मौद्रिक नीति लचिलो बनाउँदै केही सुविधा दिइएको थियो, आगामी दिनमा थप सुविधा दिन्छ भन्ने विश्वास छ,’ महतले क्लिकमाण्डुसँग भने,‘ब्याजदर घट्यो भने आर्थिक गतिविधि पनि बढ्छ, त्यसले बजार चलायमान हुन्छ । सरकारको राजस्व पनि बढ्छ ।’

Publish on: