मनकामना दरौदी हाईड्रोपावरको सेयरमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह « Eglish Khabarhub

मनकामना दरौदी हाईड्रोपावरको सेयरमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह




काठमाडौं । नेपाल धितोपत्र बोर्डले मनकामना दरौदी हाईड्रोपावर कम्पनीको सेयरमा लगानी नगर्न भनेको छ ।

बोर्डबाट स्वीकृति प्राप्त नगरेका निष्काशन तथा योजनाहरुमा लगानी नगर्न सर्वसाधारण लगानीकर्ताहरुलाइ आग्रह गरेको छ ।
मनकामना दरौदी हाइड्रोपावर कम्पनीले जेठ २४ गतेको एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी सर्वसाधारणहरुलाई लक्षित गरी सेयरमा लगानीका लागि आव्हान गरेपछि यस्तो आग्रह गरेको हो ।

बोर्डको स्वीकृती बिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा बोर्डबाट स्वीकृति प्राप्त गरेको निष्कासनमा मात्र लगानी गर्नुहुन सर्वसाधारण लगानीकर्ताहरुलाई अनुरोध गरेको छ ।

प्रचलित कानून बमोजिम स्वीकृति नपाएका त्यस्ता निष्कासनमा लगानीकर्तालाई लक्षीत गरी कुनै पनि व्यक्ति वा संस्थाले संचारका माध्यम मार्फत त्यस्तो सूचना तथा विज्ञापन प्रकाशन तथा सम्प्रेषण नगर्न-नगराउन समेत अनुरोध गरेको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

यस्तै दफा २९ (१) मा संगठित संस्थाले एक पटकमा ५० जना भन्दाबढी व्यक्तिहरुलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था रहेको जानकारी गराएको छ ।

Publish on: