अवैध जुवा प्रकरण: कलाकार बल्छी ध्रुवे पक्राउ « Eglish Khabarhub

अवैध जुवा प्रकरण: कलाकार बल्छी ध्रुवे पक्राउ



काठमाडौं । अवैध अनलाइन सट्टेबाजी प्रकरणमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा अन्य कलाकार समेत रहेका छन् ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको प्रहरीको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ ।

यसअघि बुधबार प्रहरीले अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला परेको जनाएको थियो र पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरुपमा सक्रिय भएको पाइएको हो ।

सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले जानकारी दिए ।

उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टकारुपमा सक्रिय रहेका अन्य चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउपर्नेमा निज खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् ।

उनीहरुले सट्टेबाजमा ७४ करोड १३ लाख रुपैयाँ कारोबार गरेको पाइएको छ । आशिषले तीन करोड रुपैयाँ कारोबार गरेको फेला परेको छ भने दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बताए ।

उनकाअनुसार आशिषको साथबाट प्रहरीले ३७ लाख रुपैयाँ बरामद गरेको छ । उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

कार्यालयले बरामद सामग्रीसहित उनीहरुलाई आज सार्वजनिक गरेको हो । उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

Publish on: