मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल, नयाँ कार्यसमिति निर्वाचित


काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधानअनुरुप स्वतः अध्यक्षमा चयन भएका छन् । अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष बनेका थिए ।

अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा छन् । आरएमसी ग्रुपका कार्यकारी निर्देशक अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आवद्ध छन् । परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे ।

राजधानीमा शनिबार सम्पन्न वार्षिक साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा र वीरेन्द्रराज पाण्डे निर्वाचित भए ।

यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दीप शारडा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानिया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल र आदित्य संघाई निर्वाचित भएका छन् ।

निर्वाचित राष्ट्रिय परिषद सदस्यहरुबाट सर्वसम्मत रुपमा ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका हुन् । अमित मोर र भीम घिमिरे पहिलो पटक परिसंघको उपाध्यक्ष बनेका हुन् । यसैगरी परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनित भएका छन् ।

अध्यक्ष राजेशकुमार अग्रवालले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । त्यसअघि परिसंघ अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष अग्रवालले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्‍याउन सक्रिय रुपमा लाग्ने बताए ।

सरकारका छिटो-छिटो परिवर्तन हुने नीति-नियम, चर्को ब्याजदर, समग्र मागमा आएको कमी, उत्पादनमा कमी, घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका निजी क्षेत्रले भोगिरहेको समस्या समाधानका लागि प्रभावकारी रुपमा प्रस्तुत हुने उनले बताए । निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाललाई उनले सफल कार्यकालका लागि बधाई पनि दिए ।

६ विधामा अवार्ड

साधारण सभामा विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरिएको थियो । सबैभन्दा सक्रिय उपाध्यक्षमा रोहित गुप्ता, सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्यमा अनलराज भट्टराई, परिसंघले आयोजना गरेका कार्यक्रममध्ये मस्ट ह्यापेनिङ इभेन्ट वुमन लिडरसिप समिट, परिसंघअन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समितिको अवार्ड पर्यटन समितिले प्राप्त गरेको छ ।

यसैगरी सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड लुम्बिनी उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड उपनिर्देशक रवि प्रजापतिले प्राप्त गरे ।