अवैध मदिरा बिक्री गरेपछि भैरहवास्थित होटल पौवामा राजस्वको छापा « Eglish Khabarhub

अवैध मदिरा बिक्री गरेपछि भैरहवास्थित होटल पौवामा राजस्वको छापा



काठमाडौं । भैरहवामा सञ्चालित होटल पौवाले अवैध मदिरा बिक्री गरेको पाइएको छ । सीमावर्ती भारतिय बजारबाट चोरीतस्करी गर्दै ल्याएको मदिरा बिक्री गरेको आरोपमा भैरहवा स्थित आन्तरिक राजस्व कार्यालयले होटल पौवामा छापा हानेको हो ।

राजस्व कार्यालयले होटलमा छापा हान्दा अन्त:शुल्क स्टिकर नलागेका मदिराका ६८ खाली बोलत नियन्त्रणमा लिएको छ ।
गत शनिबार होटल पौवामा बसेका एक व्यक्तिले दिएको सुचनाका आधारमा राजस्व कार्यालयले होटलमा छापा हानेको आन्तरि राजस्व विभागका महानिर्देशक दीर्घ मैनालीले जानकारी दिए ।

‘खुलेआम होटलले अवैध मदिरा बिक्री गरेको छ, तपाईंहरु केही गर्न सक्नु हुन्न भन्दै एक अपरिचित व्यक्तिले ह्वाट्स एपमा म्यासेज गरेका थिए,’ मैनालीले भने, ‘उक्त सूचनाको आधारमा कार्यालयलाई होटलमा खानतलासी गर्न निर्देशन दिएका थियौं । कार्यालयको टोलीले ह्वाट्स एप म्यासेज आए जस्तै भन्सार छलेर भित्रिएका मदिराका बोतल बरामत गरेको छ ।’

मैनाली होटल पौवाले कहिलेदेखि अवैध मदीरा बिक्री गरेको थियो र कहाँबाट खरिद गरेको थियो भन्ने विषयमा छानबिन भईरहेको बताउँछन् ।

नेपालमा भन्दा भारतमा मदिराको अन्त:शुल्क कम भएकाले पछिल्लो समय चोरी तस्कारीबाट नेपालमा मदिरा आउने क्रम ह्वात्तै बढेको छ ।

भारतमा उत्पादन हुने रक्सी भन्दा पनि तेस्रो मुलकबाट आयात हुने रक्सी नेपाली बजारमा तस्करी गर्दै भित्रिने गरेको छ ।

गत वर्ष सरकारले विदेशी मदीरा आयातमा प्रतिबन्ध लगाएपछि बढेको मदिरा तस्करी आयात प्रतिबन्धको निर्णय हटाउँदा समेत रोकिएको छैन् ।

आन्तरिक राजस्व कार्यालयका अधिकारीहरु भैरहवामा क्यासिनो सहित सञ्चालित अन्य होटलले पनि अवैध मदिरा बिक्री गरिरहेको गुनासो आएको बताउँछन् ।

काठमाडौंका तारे होटलका साथैं पार्टी प्यालेसमा पनि अवैध मदिरा प्रयोग भईरहेको सूचनापछी मंगलबार आन्तरिक राजस्व विभागले अवैध मदिरा खरिद बिक्री नगर्न निर्देशन दिएको छ ।

विभागले सूचना प्रकाशित गर्दै हाल बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटल, क्यासिनो, पार्टि प्यालेस, ब्याकेट, रेष्टुरेन्ट समेतले अवैध रुपमा चोरी पैठारी भई आएका विभिन्न ब्राण्डका विदेशी मदिराको भण्डारण, खरिद तथा बिक्री गरेको पाएको जनाउँदै त्यसमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागतले अन्त: शूल्क ऐन २०५८ तथा नियमावली २०५९ को व्यवस्था विपरित कोही कसैले मदिराको पैठारी, खरिद, विक्री, प्रयोगलगायतको कारोबार नगर्न तथा नगराउन निर्देशन दिएको छ ।

अन्त: शुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोबार गर्नुपर्ने, अन्त:शूल्क टिकट लगाइएका मदिराहरुको मात्र खरिद तथा विक्री गर्नुपर्ने तथा विदेशबाट पैठारी भई आएका मदिराजन्य वस्तुमा विभागले तोके बमोजिमको स्थानमा अन्त: शूल्क टिकट टाँस गरेर मात्र विक्री वितरण गर्नुपर्ने व्यवस्था रहेको छ ।

Publish on: