काठमाडौं । प्राइम सेरामिक्स प्रालिले २ अर्ब लगानीमा प्राइम- टाइल्स विथ स्टाइल सेरामिक उत्पादन नेपाली बजारमा ल्याएको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो उत्पादन प्राइम-टाइल्स् विथ स्टाइललाई बिक्री वितरणमा ल्याएको हो ।
आज औपचारिक रूपमा सञ्चालन ल्याएसँगै प्राइम- टाइल्स विथ स्टाइल अब नेपाली बजारमा पाइने भएको छ । कम्पनीका अध्यक्ष आशिष गर्गले अबदेखि देशभर प्राइम टायल पाउने बताए । उनका अनुसार ५० प्रतिशत स्वेदेशी माटो प्रयोग भई उत्पादन हुने टायल नेपालका लागि उपयुक्त हुनेछ ।
हाल वार्षिक १५ अर्ब रुपैयाँबराबरको टायल नेपालमा आयात हुने गरेको र चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महँगो र पहुँचभन्दा बाहिर रहेको परिप्रेक्षमा यस उधोगले देशको कुल खपतको लगभग एक-चौथाइ माग पूरा गर्नेछ ।
‘कम्पनीले वार्षिक उत्पादन गर्ने टायलले आयात कम गर्नेछ,’ उनले भने, ‘आयातित टायलभन्दा १५-२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउनेछौं ।’ साथै उधोगले आयात प्रस्थिापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायल जस्तै गुणस्तरको हुने भएकाले उपभोक्तालाई सहज हुनेछ ।
दुई दशकदेखि टायलको व्यापार गर्दै आएको गर्गले आयातालाई प्रतिस्थापन र स्वदेशमै उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उनले जिकिर गरे । भुइँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी बनेको कम्पनीले दाबी गरेको छ ।
नवीन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्धारा टायल बजारलाई नै पुन: परिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्सले रौतहटस्थित बृन्दावन नगरपालिका-६ मा १० बिघा क्षेत्रफलमा अत्याधुनिक इटालियन प्रविधिद्धारा पूर्णरुपमा स्वचालित उद्योगको स्थापना गरेको छ ।
विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी सक्मीको सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तर्राष्ट्रिय ब्रान्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमताको रहेको उनको भनाइ छ ।
स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरुले आफ्नो चाहनाअनुसारको डिजाइन समेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने भएकाले आम नेपालीको सुन्दर घरको सपनालाई कुनै न कुनै तरिकाले यस उद्योगले पूरा गर्ने विश्वास लिएको छ ।
कम्पनीले एकै छानामुनि घरायसी, व्यापारिक, पूर्वाधार परियोजना तथा सार्वजनीक स्थल आदिमा प्रयोगको लागि हाल अधिकतम २X४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुइँमा लाग्ने टाइल्स् उत्पादन गर्नेछ । दुई दशकदेखि नेपालमा टायल व्यापारको अनुभव बोकेको सिएमएस ग्रुप र फर्चुन भेन्चर्सद्वारा प्रवर्धित प्राइम सेरामिक्सको लगानी छ ।
दैनिक डेढ लाख वर्गफिट उत्पादन क्षमता रहेको यस उद्योगले ३ सय जनालाई रोजगारी दिएको छ । उद्योग विभागमा दर्ता भएको १४ महिनाको अवधिमा निर्माण सम्पन गरेको उनले बताए । अध्यक्ष गर्गले नेपाली उपभोक्तालाई सुहाउने र अर्डर अनुसारको सम्पूर्ण टायल कम्पनीले छोटो अवधिमै उत्पादन गर्ने बताए ।
SHARE YOUR THOUGHTS