अरुण-३ हाइड्रोको प्रसारण लाइन विस्तारका लागि मुआब्जा निर्धारण, प्रतिरोपनी ८ लाखसम्म

काठमाडौं । संखुवासभास्थित अरुण–३ जलविद्युत आयोजनाको ४ सय केभि प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा निर्धारण भएको छ ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले अरुण–३ जलविद्युत आयोजनाको प्रसारण लाइन टावरको मुआब्जा प्रति रोपनी ५ देखि ८ रोपनीसम्म निर्धारण गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै प्रसारण लाइन टावरको निर्माणको लागि आवश्यक पर्ने खाँदवारी वडा नम्बर १, २, ४ र ८ का जग्गाहरु स्थायी रुपमा अधिग्रहण गरिने भएकाले मुआब्जा निर्धारण गरिएको जनाएको छ ।

असार १५ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकले उक्त मुआब्जा निधारण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसरी निर्धाराण गरिएको मूल्यमा प्रतिरोपनी ५ देखि ८ लाखसम्म मूल्य निर्धारण भएको छ ।

कार्यालयले सम्बन्धित जग्गाधनीहरुले सक्कल नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, चालु आवको तिरो तिरेको रसिद लगायतका जग्गाको हकभोग सम्बन्धि आफूसँग भएको सबुद निस्सा प्रमाणसहित मुआब्जा लिनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन् । जग्गाको निर्धारित मुआब्जा रकम चित्त नबुझेमा १५ दिनभित्रमा गृह मन्त्रालयमा निवेदन दिन पनि सकिने कार्यालयले जनाएको छ ।