
काठमाडौं । कोरियामा विगतमा काम गरेर नेपाल फर्किएका कामदारहरुका लागि पुनः कोरिया जान चाहेमा अवसर खुलेको छ।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले शुक्रबार एक सूचना प्रकाशित गर्दै ईपीएसअन्तर्गतबाट कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिसा अवधीभित्रै स्वेच्छिक रुपमा नेपाल फर्किएका कामदारहरुले लागि पुनः कोरिया जाने चाहेमा आवेदन दिन सक्ने जनाएको छ । शाखाकाअनुसार इच्छुक यस्ता कामदारहरुले साउन १३ गतेदेखि साउन १५ गतेभित्रमा आवेदन दिन सक्नेछन् ।
पुनः कोरिया जान चाहनेहरुका लागि निश्चित योग्यता तोक्दै ईपीएस शाखाले आवेदन खुलाएको हो ।
शाखाकाअनुसार आगामी भदौं ०८ गते परिक्षा तालिका घोषणा हुनेछ भने भदौ १८ देखि २९ गतेसम्म परिक्षा हुने छ । परिक्षाको नतिजा असोज ३ गते प्रकाशित गरिने शाखाले जनाएको छ ।
आवेदन दिनका लागि विगतमा कोरिया गएर फर्किएका कामदार हुनु अनिवार्य भएसँगै अन्य योग्यताहरुमा नेपाली नागरिक हुनुपर्ने, उमेर १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका, फैजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गएर गैरकानुनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुक जान रोक नलगाइएको, ‘कलर ब्लाइन्ड्नेस’ नभएको, कोरियामा ई–९ र ई–९–१ भिसामा पाँच वर्षभन्दा बढि अवधि नबसेकोलगायत रहेका छन् ।
