२९ मंसिर २०८२, आइतबार

सेयर बजारमा प्रतिकित्ता २ सयभन्दा कम मूल्य रहेका १५ कम्पनी, ४ वटा वाणिज्य बैंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगानीकर्ता हरेक समय सस्तो सेयरको खोजीमा हुन्छ । तर, जतिबेला सेयर सस्तिएको हुन्छ, त्यसबेला बजारमा प्रवेश गर्नै डराउँछ । कारण- बजार घट्दाको त्रास हो ।

तर, आफूलाई त्रासबाट मुक्त राखेर बजार ओरालो लागेको बेला जो लगानीकर्ता प्रवेश गर्छ र राम्रा कम्पनी छानी-छानी सेयर उठाउँछ कमाउने उसैले हो ।

यहाँनेर राम्रा कम्पनी कसरी चिन्ने भन्ने जिज्ञासा पनि उठ्न सक्छ । कम्पनीलाई राम्रा भन्ने केही आधार भने पक्कै छन् ।

राम्रा भनिने कम्पनीको सञ्चालक समितिमै राम्रा मान्छे (व्यावसायिक विवादमा नपरेका) मानिस हुन्छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतसहित व्यवस्थापन तहका मानिसहरुको पृष्ठभूमि राम्रो हुन्छ । त्यस्ता कम्पनीले कर्जा प्रवाह गरेका क्षेत्रहरु बलिया हुन्छन् । कम्पनीले नियमित र समयमै साधारण सभा गरेका हुन्छन् । हरेक वर्ष लगानीकर्तालाई प्रतिफल दिएका हुन्छन् ।

मुलुकको आर्थिक अवस्थाका कारण लगानीका क्षेत्र संकुचित र अर्थतन्त्रमा मन्दी नै छाउँदा पनि राम्रा कम्पनीको नाफामा ठूलो गिरावट आउँदैन । उनीहरुको प्रतिफल बाँड्न सक्ने क्षमता राम्रै हुन्छ ।

सस्ता कम्पनी कस्ता ?

हामी प्राथमिक सेयर (आईपीओ) भर्न सेकेन्डभर ढिला गर्दैनौं । कम्पनी जस्तोसुकै होस् तर आईपीओ खुलेको थाहा पाउनासाथ भरिसक्छौं ।

सय रुपैयाँको आईपीओ पर्दाको खुसी भनिसाध्य हुँदैन । नपर्दाको दु:ख पनि उस्तै हुन्छ । तर, सेयर बजारमा करिब आईपीओकै हाराहारीमा कम्पनीहरुको सेयर मूल्य छ भने पनि वास्ता गर्दैनौँ, जबकि, ती कम्पनीको १० कित्ता सेयरका लागि तनाव लिनै पर्दैन, चाहेजति उठाउन पाइन्छ ।

सेयर बजार परिसूचक नेप्से अहिले पनि विगतको उच्च विन्दुभन्दा ३४.६८ प्रतिशतले तल छ । सर्वाधिक उचाइमा पुगेका बेला नेप्से परिसूचक २०७८ भदौ २ गते ३१९८.६ अंकमा पुगेको थियो । बिहीबार नेप्से २०८९ अंकमा ओर्लिएको छ ।

कम्पनीहरुको मूल्य पनि त्यसैगरी घटेको छ । तर, त्यस्ता कम्पनीप्रति लगानीकर्ताको रुची खासै देखिएको छैन ।

बजारमा आएको गिरावटले वाणिज्य बैंककै सेयर पनि २ सय रुपैयाँभन्दा तलको मूल्यमा कारोबार भइरहेका छन् । बिहीबारसम्मको कारोबारमा दोस्रो बजारमा प्रतिकित्ता २०० रुपैयाँभन्दा कम मूल्य भएका १५ वटा कम्पनी छन् ।

१५ वटा कम्पनीमा ४ वटा वाणिज्य बैंक र बाँकी जलविद्युत कम्पनी छन् । बिहीबारको कारोबार मूल्यअनुसार ४ वटा वाणिज्य बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ ।

बिहीबार प्रभु बैंकको प्रतिकित्ता १७७, कुमारी बैंकको १७३, सिटिजन्स बैंकको १९० र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ छ ।

सर्वाधिक कमाउने वाणिज्य बैंकको सूचीमा नेपाल इन्भेष्टमेन्ट पाँचौँ नम्बरमा छ । अघिल्लो वर्ष ३ अर्ब ७९ करोड कमाएको यो कम्पनीले यो वर्ष ४ अर्ब २९ करोड रुपैयाँ कमाएको छ ।

त्यस्तै सिटिजन्स बैंकले असार मसान्तसम्ममा २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ छ । असार मसान्तसम्म प्रभु बैंकले २ अर्ब ८२ करोड कमाएको छ भने कुमारीले १ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको छ ।

दोस्रो बजारमा कारोबार भइरहेका संस्ता कम्पनीको सेयर खरिद गर्न चाहनेले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर १९६ रुपैयाँमा पाउन सक्छन् । यस्तै पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता १९३ रुपैयाँ छ ।

खानीखोला हाइड्रोपावरको १९३, अपी पावरको १९२, युनियन हाइड्रोपावर १८६, आँखुखोलाको १७९ र जलविद्युत लगानी तथा विकास कम्पनीको १७८ रुपैयाँ छ ।

यस्तै शिवश्री हाइड्रोपावरको १७३, दिव्यश्वरीक हाइड्रोपावरको १७२, नेसनल हाइड्रोपावरको १६३ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य बिहीबार प्रतिकित्ता १४४ रुपैयाँ छ ।

इन्भेस्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार बजार प्रवेश गर्न अहिले उपयुक्त समय भएको बताउँछन् । ‘विभिन्न घटनाक्रमले अब लगातार ब्याजदर घट्दै जाने देखाएको छ,’ उनी भन्छन्, ‘ब्याजदर घट्दै जानुले सेयर बजार अनुकूल बन्दै जाने संकेत गर्छ ।’

तर, अहिले आफूसँग भएको पैसा ढुक्कले लगानी गर्न सकिए पनि कर्जा लिएर भने पोर्टफोलियोको ३०-३५ प्रतिशतभन्दा बढी लगानी गर्ने बेला नभइसकेको उनको बुझाइ छ । ‘कम्पनीको मूल्य निकै तल झरेकाले जोखिम निकै नै कम छ,’ अध्यक्ष रौनियार भन्छन्, ‘लगानीकर्ताले बुझ्ने हो भने बजार प्रवेश गर्ने उपयुक्त समय यही हो ।’