जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु « Eglish Khabarhub

जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु



काठमाडौं । जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको छ ।

कारागारभित्र अचेत अवस्थामा फेला परेका मादी नगरपालिका-५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका-७ नुवाकोटका २८ वर्षीय आकाश बलामीको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान २ बजे जेलबाट भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनको जिम्मा लगाएको भए पनि उनीहरु अचेत अवस्थामा फेला परेका थिए ।

कारागारभित्र रहेका कैदीबन्दीले दुईजना अचेत अवस्थामा भएको सूचना दिएपछि प्रहरीले उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याइएको डेढ घन्टामा दुबै जनाको मृत्यु भएको थियो ।

तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए ।

दुई कैदीबन्दीको मृत्यु भएपछि कारागारमा केहीबेर तनाव भएको थियो । घटना शंकास्पद् देखिएको भन्दै संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

Publish on: