रास्वपाले उद्धारका लागि भन्दै कार्यकर्ता परिचालन गरेपछि प्रशासनले लगायो रोक « Eglish Khabarhub

रास्वपाले उद्धारका लागि भन्दै कार्यकर्ता परिचालन गरेपछि प्रशासनले लगायो रोक



काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले बाढी पहिरोलगायत विपद्का बेला उद्धार गर्न सरकारी संयन्त्र नै सक्षम रहेको भन्दै स्वयंसेवी रुपमा सुरक्षाकर्मीको समन्वयमा मात्र यस्ता काम गर्न सर्वसाधारणलाई सचेत गराएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढ मुग्लिन सडक खण्डमा सहायता र उद्धारका लागि र्‍यापिड एक्सन टीम (आरएटी) खटाएपछि जिल्ला प्रशासन कार्यालयले यस्तो कार्यका लागि सरकारी संयन्त्र सक्षम रहेकोले सुरक्षाकर्मीसँगको समन्वयमा मात्र यस्तो काम गर्न भनेको हो ।
रास्वपाका कार्यकर्ता वाकीटकीसहितको सञ्चारसेट प्रयोग गरेर र ‘आरएटी’ लेखिएको ज्याकेट लगाएर साउन २३ गते कालीखोलालगायतका विभिन्न स्थानमा गएको पहिरो हटाउन भन्दै खटिएका थिए । उक्त घटना उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलेले बुधबार सूचना जारी गर्दै यस्ता कार्य नगर्न भनेका हुन् ।

‘हिजो मिति २०८०/०४/२३ गते मुग्लिन-नारायणगढ सडक खण्डको कालिखोला भन्ने स्थानमा माथिबाट लेदो सहितको पहिरो आइ बाटो अवरुद्ध भएकोमा सुरक्षा निकाय र सडकसहितका राज्यका अंगबाट भएको स्रोतसाधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाइ सडक सुचारु गराई ट्राफिक व्यवस्थापन समेत गरेकोमा कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिईएको, लिन स्वीकृति नदिएको व्यहोरा सूचनाद्वारा जानकारी गराउँदछ,’ सूचनामा छ, ‘उक्त पोस्टमा सञ्चारसाधन वाकीटकी समेत देखिएकोमा उक्त सञ्चारसाधन स्वीकृति र दर्तावाल हो, होइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको व्यहोरा समेत जानकारी गराउँदै विपद्का यस्ता घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अंग सक्षम रहेको जानकारी गराउँदछौं ।’

ठूला विपद्का घटनामा राजनीतिक दल, नागरिक समाज लगायत आमसर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचयबिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रुपमा जिल्ला स्थानीय विपद व्यवस्थापनको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने पौडेलको हस्ताक्षरमा जारी गरिएको सूचनामा छ ।

Publish on: