दामन रिसोर्ट सञ्चालनको जिम्मा पुनः निजी क्षेत्रलाई « Eglish Khabarhub

दामन रिसोर्ट सञ्चालनको जिम्मा पुनः निजी क्षेत्रलाई



काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाको स्थानीय सरकारले सञ्चालन गरिरहेको दामन रिसोर्टको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ । नगरपालिकाले २० वर्षका लागि उक्त रिसोर्ट निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिने भन्दै बोलपत्र आह्वान गरेको हो ।

दामनस्थित उक्त रिसोर्ट विस २०२१ मा निर्माण भएको हो । लामो समयसम्म केन्द्रीय सरकारले सञ्चालन गरेको उक्त रिसोर्ट कालान्तरमा जिल्ला विकास समिति हुँदै नगरपालिकाको जिम्मेवारीमा आएको थियो ।

तत्पश्चात उक्त रिसोर्ट सञ्चालनका लागि नगरपालिकाले हेटौंडाको प्रकाश होटल इन्टरनेसनललाई पाँच वर्षका लागि दिएको थियो । तर, सम्झौता अवधि पूरा नहुँदै नगरपालिका र होटलबीच ठेक्का सम्झौता भंग भएपछि रिसोर्ट तथा रिसोर्टसँगै रहेको भ्युटावर केही वर्षका लागि बन्द पनि भएको थियो ।

हाल उक्त रिपोर्टलाई सञ्चालनको जिम्मा निजी क्षेत्रहरुलाई दिनका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको छ । नगरपालिकाका अनुसार आव २०८०/०८१ देखि २० वर्षका लागि दामन भ्युटावरसहित रिपोर्ट एकमुष्ट रुपमा बढाबढको माध्यमबाट ठेक्का लगाउन लागिएको हो ।

३० दिने सूचना निकाल्दै गरिएको बोलपत्र आह्वानमा इच्छुकले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार ठेक्का अवधिका लागि न्यूनतम अंक १ करोड रुपैयाँ छ । ठेक्का सम्झौता हुँदा किस्ता २५ प्रतिशत बुझाउनुपर्नेछ ।

त्यस्तै, बाँकी रहेको किस्तामध्ये पहिलो किस्ता ३० प्रतिशत ५ वर्षमा, दोस्रो किस्ता ३० प्रतिशत सम्झौता अवधिको १२ वर्षभित्र र बाँकी सम्झौता अवधिको १९ वर्षभित्र र १५ प्रतिशत रकम बुझाउनुपर्नेछ । तोकिएको अवधिमा वार्षिक किस्ता बुझाएर नवीकरण गर्नुपर्ने र नबुझाएमा ठेक्का तोडेर नियमअनुसार हर्जनासहित कारबाही हुने नगरपालिकाले जनाएको छ ।

Publish on: