शंकास्पद यात्रा सूचीका आधारमा व्यवसायी राकेश अडुकियाका छोरा रोहन अडुकियालाई नियन्त्रणमा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकारीहरु राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अडुकियालाई नियन्त्रणमा लिन नमानेपछि तनावमा आएका छन् ।
काठमाडौं । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले व्यवसायी राकेश अडुकियाका छोरा रोहन अडुकियालाई नियन्त्रणमा लियो । अडुकियाका छोरा रोहन नियमित रुपमा दुबई, हङकङलगायतका स्थानमा भ्रमण गरेको भन्दै अध्यागमन विभागले शंकास्पद सूचीमा राखेको थियो ।
हङकङबाट ब्रेक सु मार्फत सुन भित्रिएको र सोही अवधिमा अडुकिया नियमित रुपमा हङकङ गएको भन्दै विभागले उनलाई शंकास्पद सूचीमा राखेको विभागका अधिकारी बताउँछन् । गत साता केही सञ्चारमाध्यममा राकेश अडुकियाले छोरा रोहनलाई दिल्ली भगाएको समाचार सार्वजनिक भएको थियो ।
त्यसपछि विभागले अडुकियालाई शंकास्पद सूचीमा राखेको थियो । शुक्रबार बिहान रोहन नयाँ दिल्लीबाट काठमाडौं फर्किएका थिए । रोहनका बुबा राकेश आफूहरु सुन प्रकरणमा संलग्न नभएकाले छोरालाई नयाँ दिल्लीबाट काठमाडौं बोलाएको बताउँछन् ।
‘हामीले कुनै गल्ती गरेको भए छोरालाई काठमाडौं बोलाउने नै थिएनौं,’ उनले भने, ‘आज बिहानदेखि अध्यागमन कार्यालयले मेरो छोरोलाई नियन्त्रणमा राखेको छ । उहाँहरुले उसलाई किन नियन्त्रणमा लिनुभयो कुनै जानकारी दिनुभएको छैन ।’
शुक्रबार रोहनलाई अध्यागनले नियन्त्रणमा लिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख अर्जनु चन्दले अडुकियालाई अध्यागमनले नियन्त्रणमा लिएको जानकारी दिएका थिए ।
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले भने राकेश अडुकियाका छोरो रोहन अडुकियालाई राजस्व अनुसन्धान विभागमा बुझाएको बताएका थिए ।
तर, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अडुकियालाई कसैले पनि विभागमा नबुझाएको र आफूहरुले अडुकियालाई नियन्त्रणमा लिन आग्रह गर्दै अध्यागमन विभागलाई कुनै पत्र नलेखेको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक प्रहरी निरीक्षकका अनुसार अध्यागमन कार्यालयले अडुकियालाई नियन्त्रणमा लिएर प्रहरीलाई राजस्व अनुसन्धान विभागमा बुझाउन भनेको थियो ।
प्रहरीले अडुकियालाई भ्यानमा राखेर राजस्व अनुसन्धान विभागमा बुझाउन खोजेको थियो । तर, राजस्व अनुसन्धानले १०० किलो सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेकाले आफूहरुले सुन तस्करीको विषयमा आरोप लागेका कुनै व्यक्तिलाई नियन्त्रणमा नलिने र अडुकियालाई नियन्त्रण लिनुपर्ने कुनै कारण नभएको जानकारी दिएपछि प्रहरी र अध्यागमन कार्यालयका अधिकारी हच्किए ।
राजस्व अनुसन्धान विभागका अधिकारीहरु अडुकियालाई प्रक्राउ गर्न आफूले अध्यागमनलाई कुनै पत्र नपठाएको दाबी गर्छन् । राजस्व अनुसन्धान विभागले अडुकियालाई नियन्त्रण नलिने जानकारी गराएपछि कोटेश्वर पुगेको प्रहरीको भ्यान सीआईबीको कार्यालय महाराजगन्जतर्फ मोडियो ।
फोनमा अध्यागमनका अधिकृतहरु र प्रहरीले सीआईबीसँग सम्पर्क गरे । नेपालमा व्यवसाय गर्दै आएका भारतीय नागरिक राकेश अडुकियाको छोरो रोहनलाई अध्यागमनले नियन्त्रणमा लिएको र सीआईबीमा १०० किलो सुन प्रकरणको अनुसन्धानका लागि बुझाउन चाहेको प्रहरी अधिकृतहरुले सीआईबीका उच्च अधिकारीहरुलाई जानकारी गराए ।
प्रहरीको भ्यान काटेश्वरबाट महाराजगन्जतर्फ गइरहेको थियो । सीआईबीका अधिकारीहरुले सुन तस्करी प्रकरणको अनुसन्धानमा अडुकियालाई नियन्त्रणमा लिनुपर्ने कुनै आधार नदेखिएको भन्दै आफूहरुले रोहनलाई नियन्त्रणमा नलिने जानकारी अध्यागमन कार्यालयका अधिकृत र विमानस्थलका प्रहरीलाई गराए ।
सीआईबीका प्रवक्ता नवराज अधिकारीले रोहन अडुकिया प्रक्राउ परेको विषयमा आफूलाई केही जानकारी नभएको क्लिकमान्डुलाई बताए । ‘सुन प्रकरणको विषयमा तपाईं केन्द्रीय प्रहरी प्रवक्तासँग सोध्नुस्,’ उनले भने, ‘तपाईंले भनेको अडुकियाको विषयमा सीआईबीमा कुनै जानकारी छैन ।’
शंकास्पद सूचीमा भन्दै रोहनलाई नियन्त्रणमा लिएको अध्यागमन कार्यालयका अधिकारीहरु राजस्व अनुसन्धान विभाग र सीआईबीले रोहन हाल शंकास्पद सूचीमा नरहेकाले नियन्त्रणमा नलिने बताएपछि अध्यागमन कार्यालय दबाबमा पर्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकारी झक्कनाथ ढकाल अध्यागमन विभागले रोहनको ट्राभल इतिहास शंकास्पद देखिएको भन्दै वाच लिस्टमा राखेकाले नियन्त्रणमा लिइएको बताउँछन् ।
‘हामीले उहाँलाई विभागले गरेको निर्णयका आधारमा नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘विभिन्न निकाय र विभागसँग पनि छलफल भइरहेको छ । रोहन अडुकियाको विषयमा अध्यागमन कानुनअनुसार निर्णय गर्ने वा के गर्ने भन्ने विषय छलफलमा छ ।’
विभिन्न सञ्चारमाध्यममा आएको समाचार र पटक-पटक हङकङलगायतका संगठित अपराध भएको क्षेत्रमा उनले यात्रा गरेकाले विभागले शंकास्पद सूचीमा राखेको ढकाल बताउँछन् । अध्यागमन कार्यालय सीआईबी र राजस्व अनुसन्धानसँग समन्वय नगरी रोहनलाई नियन्त्रणमा राख्दा अब यो समस्या कसरी समाधान गर्ने भन्ने दबाबमा परेको छ ।
रोहनलाई नियन्त्रणमा लिएलगत्तै ठूलै अपराधीलाई प्रक्राउ गरेजसरी सञ्चारमाध्यममा जानकारी चुहाएका अध्यागमन कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका अधिकारीहरु राजस्व अनुसन्धान र सीआईबीले रोहनलाई नियन्त्रणमा राख्न नमानेपछि दबाबमा छन् ।
शुक्रबार बिहानदेखि अध्यागमन कार्यालयको नियन्त्रणमा रहेका रोहनलाई अध्यागमनको नियन्त्रणमा राख्ने वा रोहन भारतीय नागरिक भएकाले भारत नै पठाउने वा कुनै व्यक्तिको रोहवरमा नेपाल प्रवेश गर्न दिने भन्ने विषयमा अध्यागमनले कुनै निर्णय गर्न सकेको छैन ।
रोहनका बुवा राकेश आफ्नो छोराले कुनै गल्ती नगरेकाले अध्यागमनले नियन्त्रणमा राख्नुपर्ने कारण नभएको बताउँछन् । ‘उसले गल्ती गरेको प्रमाण भएको कुनै निकायले कानुनअनुसार नियन्त्रणमा राख्नुपर्यो । कागजपत्र गलत छ भने नियन्त्रणमा राख्नुपर्यो,’ उनले भने, ‘कुनै कसुरको जानकारी नदिई अध्यागमनले कुन कानुनअनुसार नियन्त्रणमा राख्न पाउँछ ?’
अध्यागमन कार्यालयका सूचना अधिकारी ढकाल अडुकियाको विषयमा के गर्ने भन्ने छलफलको क्रममा रहेको बताउँछन् । ‘उनले गरेको यात्रा शंकास्पद लागेका सोधपुछका लागि नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘उहाँलाई छोड्ने वा नियन्त्रणमा लिने भन्ने विषयमा विभागसँग समन्वय गरेर निर्णय हुन्छ ।’
SHARE YOUR THOUGHTS