२४ मंसिर २०८२, मंगलबार

यो युवा उद्यमशीलताको वर्ष हो, प्रशस्त उपयोग गरौँ : अर्थमन्त्री महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले यसपटकको बजेटमा युवालाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएको बताएका छन् । यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाले उपयोग गर्नुपर्ने उनले बताए ।

‘देशको ठूलो जनशक्ति विदेशिएकाले यहाँ दक्ष जनशक्तिको अभाव सिर्जना भइसकेको छ । यहाँ धेरै अवसर छन्, विदेशमा पढाइ सक्नुभयो भने तुरुन्त नेपाल फर्किन म अनुरोध गर्छु,’ मन्त्री महतले भने, ‘नेपालमै छ, प्रशस्त सम्भावना छ, त्यसलाई क्यास गर्नुहोस् ।’

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संस्था सञ्जाल (आयोन) ले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री महतले भने, ‘रोज्न पाउने हाम्रो आधारभूत अधिकार हो, हाम्रो योग्यता, क्षमता, सिर्जना र सम्भावना के गर्दा र कहाँ गएर आपूर्ति हुन्छ, त्यसमा कसैले बन्देज लगाउन मिल्दैन ।’

सूचना प्रविधिमा ठूलो सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री महतले नेपालबाट सप्टवेयर निर्यात गरेर ठूलो मात्रामा विदेशी पैसा नेपाल भित्रिरहेको बताए । र, यसका लागि धेरै ठूलो लगानी नचाहिने बरु समर्पण र दक्षता चाहिने उनको भनाइ छ ।

कसैले सूचना प्रविधिमा लगानी गर्न चाहन्छ भने उसका लागि सरकारले ५० प्रतिशत आयकर छुट दिने निर्णय गरेको जानकारी दिँदै मन्त्री महतले भने, ‘नेपालमै बसेर आईटी बिजनेसलाई विश्वबजारमा फैलाउन चाहिने विदेशी मुद्रा सरकारले उपलब्ध गराउनेछ ।’