ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष हुनुहन्छः मन्त्री ज्वाला « Eglish Khabarhub

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष हुनुहन्छः मन्त्री ज्वाला



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले यस्तो दाबी गरेका हुन् ।

‘बालुवाटारमा प्रधानमन्त्रीको निवासलाई बिस्तार गर्नको लागि कुनै बेला नीतिगत निर्णय भयो । अब नीतिगत निर्णय गर्दैमा छानबिन हुने अनि कारबाही हुन थाल्यो भने त केही निर्णय नगरेर बस्नुपर्यो नि । यो चूनौति सामना तयार अध्यक्ष माधव नेपाल तयार हुनुहुन्छ । उहाँ त्यसमा एकदम निर्दोष हुनुहुन्छ । उहाँ क्लिन हुनुहुनछ ।’

नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका ज्वालाले माधव नेपाल अहिलेसम्मको राजनीतिक जीवन अत्यन्तै पारदर्शी भएको दाबी गरे । ‘स्वच्छ छविको नेताको रुपमा कसैको नाम लिइन्छ भने त्यो माधव नेपालको नाम लिईन्छ’ उनले भने ‘यस्ता कुराले, तर्सिनुपर्दैन । यो चूनौतिको सामना गर्न उहाँ तयार हुनुहुन्छ । हाम्रो पार्टी तयार छ ।’

कार्यक्रममा उनले यो सरकार नढल्ने दाबी गरे । कसैले भन्दैमा अहिलेको सरकार नढल्ने समेत स्पष्ट पारे । उनले वर्तमान सत्ता–गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने ठोकुवा गरे ।

‘सरकार संसद्को यो अवधिभरि चल्छ । पूरा अवधि चल्छ । बरु व्यक्ति, मन्त्री अर्को कोही बदलिन सक्छ । यो गठबनधन यो संसद्को कार्यकालभित्र कायम रहन्छ’ उनले भने ‘हामी राजनीति स्थिरता र सुशासन पनि कायम गर्छौं । यो सरकार निर्वाध रूपमा अघि बढ्छ ।’

सरकारले अहिले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको भन्दै यस्तो बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै तुक र अर्थ नहुने उनको टिप्पणी छ ।

‘अहिले राजीनामाको प्रसंग आउने गरिरहेको छ । एउटा कुरा त यो राजनीतिक स्टन्टबाजी पनि हुनसक्छ । अर्को पोलिटिकल कन्जम्पसनपनि हुनसक्छ। गठबन्धन बलियो हुँदासम्म र सरकारले शीर निहुराउने काम नगर्दासम्म कसैको दबाबमा राजीनामा दिनुपर्दैन् । सरकारले एकातिर राम्रो काम पनि गरिहेको छ, अनि राजीनामा पनि दिनुपर्ने ? भ्रष्टाचारलीलाई कारबाही गरेको बेलामा अनि राजीनामा गर्ने ? सुशासन कायम गर्नको लागि सरकारले यसरी काम गरिरहने, अनि राजीनामा दिनुपर्ने ? यो कुरा मिलेन ।’
उनले वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरे । ‘यो गठबन्धन कायम छ । बलियो छ । गठबन्धनभित्र कुनै समस्या छैन्’, उनले भने, ‘गणितीय हिसाबले पनि यो सरकार टिक्ने राम्रो आधार छ । जनताको निम्ति सरकारले राम्रा काम गरेको छ । जपक्षीय काम गरेको छ। भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर भनेर जनताले भनेका छन् । अनि सरकारले त्यही काम गरिरहेको छ, सरकार भ्रष्टाचारीहरुलाई कारबाही गर्न निर्मम छ ।’

मन्त्री ज्वालाले सरकारले राम्रो गरिरहेको अवस्थामा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाको प्रसंग आउनु नै गलत भएको बताए । उनले भने,‘अहिले राजीनामाको प्रसंग नै नआउनुपर्ने हो । राम्रो काम गर्नेले राजीनामा दिने होईन । कि त कोही भ्रष्टाचारमा मुछिनुपर्यो । बदनाम हुनुपर्यो । जनविरोधी काम गर्नुपर्यो । जनताले यो मन्त्री र प्रधानमन्त्रीले राजीनामा देउ भन्नुपर्यो । कुनै नेताले आफ्नो कुर्सीको निम्ति राजीनामा माग्नुको कुनै अर्थ हुँदैन् । जनताले यो सरकारलाई समर्थन गरेका छन् । सरकारका कामलाई जनताले प्रशंसा गरेका छन् । जनताले बल्ल सरकार भएको अनुभूति गर्न थालेका छन् । यतिवेला राजीनामाको प्रसंग आउनु बेमौसमको बाजा बजाउनु हो ।’

उनले एक क्विन्टल सुन तस्करीबारे सिआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने विश्वास दिलाए । उनले भने,‘सुन तस्करी प्रकरणमा छानबिन भैरहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । हामी दोषी र बद्मासीलाई छोड्दैनौं । सम्माननीय प्रधानमन्त्रज्यूले पनि भन्ने गर्नुभएको छ की–कोही दोषी छुट्दैन, निर्दोष फस्दैनन् । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सुन तस्करीसम्मको कुरा गर्दा, सरकारले दोषी नछुट्ने र निर्दोष नफस्ने ढंगले अनुसन्धान गरिरहेको छ । सरकार यसमा दृढ छ । सरकार डगमगाउँदैन् ।’

सो अवधिमा उनले आफू नेतृत्वको मन्त्रालयले भौतिक पूर्वाधार र यातायात दुवै क्षेत्रमा राम्रो काम गरेको सुनाए । उनले सरकारले नै राम्रो काम गरिरहेको दाबी गरे । उनले भने–‘हाम्रो मन्त्रालयअन्तर्गत याातायत क्षेत्रमा सुधार गरेका छौं । वैदेशिक रोजगारमा जानेको लागि श्रमिकलाई सुविधा दिनेगरि काम गरेको छ । स्वास्थ्य मन्त्रालयको तर्फबाट गरिब, निमुखा र विपन्नको लागि उपचारको लागि केही प्रयत्न भएका छन् । विभन्न मन्त्रालयले जनताको पक्षमा काम गरेका छन् । भ्रष्टाचार, कुसशानको विरोधमा सरकार छ । हामी रोजगारीका कार्यक्रम ल्याउँदैछौं । सरकारले संघीय निजामती ऐन ल्याउँदैछ । शिक्षा ऐन अघि बढाउँदैछ । सडक अनि सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन आउँदैछ । यस्तो बेलामा राजीनामा दिनुपर्ने कुराको कुनै तुक र अर्थ छैन् ।’

Publish on: