![](https://internal.appharu.com/wp-content/uploads/2023/08/madhav-nepal-768x403.png)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू भागेको भन्ने प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार बिहान स्वदेश फर्कने क्रममा विमानस्थलमा पत्रकारसम्मेलन गर्दै उनले आफू भाग्ने खालको मान्छे नभएको बताए ।
पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको उनले बताए ।
आफू युरोप भ्रमणका जानु १ दिन अगाडि मात्रै सर्वोच्च अदालतले ललितानिवासको जग्गा प्रकरणको छानबिनका लागि आदेश दिएको नेपालले बताए ।
‘कसै कसैले त माधव नेपाल भाग्यो भन्ने लेखे। माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नु पर्दथ्यो । गोली चल्ने बेला, गोली खाने बेला त नभाग्ने मान्छे । बदमासी र कुनै अपराध नगर्दाखेरी तर्सिएर भाग्ने मान्छे माधव नेपाल होइन,’ नेपालले भने ।
कतिपयले आफूलाई भागेको र फर्किने योजना नभएको भन्दै प्रचार गरेका कारण आफू सिधा सामना गर्न कार्यक्रम छोट्याएर फर्किएको बताए ।
‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन् । नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ,’ उनले भने, ‘कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ ।’
अध्यक्ष नेपालले आफू दुई/तीन दिनअघि नै स्वदेश आउन खोजे पनि जहाजको टिकट भनेका बेला काट्न नसकिएको बताए।
उनले आफूले कुनै बदमासी नगरेको दाबी गरे ।
‘मैले केही बिराएको छैन, बदमासी गरेको छैन । कुनै अपराध गरेको छैन,’ उनले भने, ‘कुनै भ्रष्टाचार गरेको छैन । कुनै लेनदेन गरेको छैन। म आत्तिएको छैन । तर अलिअलि चित्त दुखेको छ । देशका लागि केही गर्छु भनेको हो ।’
उनले ललिता निवास प्रकरणमा छानबिन हुनुपर्ने र आफूले सहयोग गर्ने पनि बताएका छन् ।
नेपाल युरोप भ्रमणमा जनुभन्दा अघिल्लो दिन, साउन २१ गते सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुमाथि पनि छानबिन गर्न आदेश दिएको थियो ।
SHARE YOUR THOUGHTS