![](https://internal.appharu.com/wp-content/uploads/2023/06/prakash-sharan-mahat4-768x403.png)
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।
सोमबार दिउँसो मन्त्रालयमा निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग अर्थमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ ।
सरकारले काम सम्पन्न भएका आयोजनाको ५० अर्ब भुक्तानी नगरेको भन्दै केही सातायता निर्माण व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि अर्थमन्त्रीले आज छलफल गर्न लागेका हुन् ।
निर्माण व्यवसायीहरुले ५० अर्ब रुपैयाँ सरकारले भुक्तानी नगर्दा आफूहरु समस्यामा परेको भन्दै आन्दोलन गरिरहँदा अर्थमन्त्रालयले भने ६ अर्ब रुपैयाँ भन्दा बढीको बिल मन्त्रालयमा पेस नभएको जनाएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयबाट करिब ४ अर्ब, सिँचाइ मन्त्रालयबाट १ अर्ब र स्वास्थ्य मन्त्रालयबाट करिब १ अर्ब रुपैयाँ भुक्तानीका लागि बिल आए पनि अन्य मन्त्रालयबाट भने भुक्तानीका लागि बिल पेस नभएको अर्थमन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
सरकारले ५० अर्ब रुपैयाँ भुक्तानी नगरेको भन्दै आन्दोलन गरिरहेकाले अर्थमन्त्रीले कुन कुन मन्त्रालयबाट कति रकम भुक्तानी हुन बाँकी छ भन्नेबारे व्यवासीहरु छलफल गर्ने तयारी गरेका छन् ।
यसैबीच निर्माण व्यवसायीको कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा यथाशीघ्र माग सम्बोधन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार समस्या समाधानका लागि नै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा विभिन्न विषयगत मन्त्रालयका सहसचिव सदस्य रहने गरी छ सदस्यीय कार्यदल गठन गरिएको छ ।
कार्यदललाई आगामी १५ दिनभित्र सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । कार्यदलमा अर्थ, भौतिक पूर्वाधार, सहरी विकासलगायतका भौतिक पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।
SHARE YOUR THOUGHTS