विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषयः कांग्रेस « Eglish Khabarhub

विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषयः कांग्रेस



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो समयदेखि संसदको बैठक अवरोध भएको भन्दै संसदको अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई अपील गरेको हो । प्रतिपक्षले कुनै विषयमा संसदमा आलोचनात्मक रुपमा प्रश्तुत हुनु स्वभाविक भएपनि लामो समयसम्म सदनमा छलफल हुन नसक्नेगरी संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी भएको कांग्रेसको ठहर छ । बैठकले सत्तारुढ दलहरुसँगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने पनि निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय भएको बताएको छ । यस्ता गैरकानूनी पूर्ण रुपले नियन्त्रण हुनुपर्ने भन्दै यस कार्यमा संलग्न जोसुकै भएपनि अनुसन्धान, छानबिनको दायराभित्र ल्याइ कानूनी कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ । प्रमुख सचेतक लेखकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भएपनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गरिएको बताए ।

काँग्रेस संसदीय दलको बैठकले आ.व. २०८/८१ को बजेटमा भएका कमी, कमजोरीहरुलाई सुधार गर्दै चालु आवको बजेटलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न सरकार समक्ष अनुरोध गरेको छ । कांग्रेसले संघीय संसदलाई प्रभावकारी बनाएर निरन्तर काम गरिरहने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

लेखकले यसो भने

सरकारलाई सदनका प्रति जवाफदेही बनाउनुपर्छ । संसद आफैँ जनताकाप्रति उत्तरदायी हुनुपर्दछ । कुनै विषयमा आफ्ना असहमति व्यक्त गर्न सरकार र समग्र राष्ट्रको ध्यान आकृष्ट गर्न प्रतिपक्षले सदनमा आलोचनात्मक रुपले प्रश्तुत हुनु स्वभाविक हो । तर लामो समयसम्म सदनमा छलफल हुन नसक्नेगरी संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी हो । सदन अवरुद्ध भएका कारण एकातिर जनताका सरोकारका विषय सदनमा उठ्न सकेका छैनन् भने अर्कोतर्फ सदनमा विचाराधिन महत्वपूर्ण विधेयक कानून बन्न सकेका छैनन् । सरकारबाट नयाँ विधेयक प्रश्तुत गर्ने, प्रतिनिधि सभामा विषयगत समितिको नेतृत्व चयन गर्ने कार्य अवरुद्ध छ । नेपाली काँग्रेस संसदीय दलको यो बैठक सत्तारुढ दलहरुसँगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसँग सम्वादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने निर्णय गर्दछ । संघीय संसद नै निस्क्रिय भएको अवस्थाले संसदीय पद्धती प्रति नै जनतामा वितृष्णा उत्पन्न हुने जोखिम भएको हुँदा लामो समयसम्म संसद अवरोध गर्ने कार्यलाई उचित मान्न सकिँदैन । अतः यो बैठक संसदको प्रमुख प्रतिपक्ष दललाई सदनको अवरोध समाप्त गरी सबै विषयमा सदनमा नै छलफल गर्ने वातावरण सुनिश्चित गर्न अपील गर्दछ ।

हालै अवैध ढंगले पैठारी भइ त्रिभुवन विमानस्थलबाट बाहिर निस्किइ पक्राउ गरिएको एक क्विन्टल सुनको विषयमा यो बैठकको ध्यान गम्भिर रुपले आकृष्ट भएको छ । त्रिभुवन विमानस्थलजस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट नै अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय भएको छ । यस्ता घटना विगतमा पनि भएका छन् । पटक–पटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको छ । यस्ता गैर कानूनी कार्य निस्तेज गर्न पूर्ण रुपले नियन्त्रण हुनुपर्दछ । निस्तेज एवं पूर्ण रुपले नियन्त्रण हुनुपर्दछ । यस्ता कार्यमा संलग्न जोसुकै भएपनि अनुसन्धान, छानवीनको दायराभित्र ल्याइ कानूनी कारबाही गर्नुपर्दछ । यस्ता प्रकृतिका अपराधजन्य कार्यका लागि अनुसन्धान, छानवीन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्युरो लगायत सरकारी निकायहरुले छानबिन, अनुसन्धान गरिरहेको छ । नेपाली काँग्रेस संसदीय दलको यो बैठक नेपाल सरकार यस घटना बारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान, छानवीन गरी घटनामा संलग्न जोसुकै भएपनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गर्दछ ।

संघीय संसदमा धेरै महत्वपूर्ण विधेयकहरु विचाराधिन छन् । संक्रमणकालिन न्याय सम्बन्धी विधेयक, सम्पती शुद्धीकरण सम्बन्धि विधेयक, भ्रष्टाचार नियन्त्रण गर्ने विषयसँग सम्बन्धित विधेयक लगायत तमाम विधेयक चाँडै पारित गर्नुपर्ने छ । संसदको दुईवटा अधिवेशनबाट हालसम्म न्युन संख्यामा विधेयक पारित भएका छन् । संसदमा विचाराधिन सबै विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्न यो बैठक सरकार र संसदमा क्रियाशिल सबै दलहरुलाई हार्दिक अपील गर्दछ । सरकारले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने र मौलिक हक सुनिश्चित गर्ने विधेयक तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने सम्बन्धी विधेयक ल्याउनुपर्दछ । नेपाली काँग्रेस संसदभित्र विधायनको काममा दत्तचित्त भई प्रभावकारी रुपले लाग्ने निर्णय गर्दछ ।

आ.व. २०८०/८१ को बजेट पारित भइसकेको छ । बजेटमा देखा परेको कमी, कमजोरीलाई आगामी दिनमा सुधार गर्ने आवश्यक व्यवस्था मिलाउन पुँजीगत खर्च कम हुने अवस्थालाई उचित ढंगले सम्बोधन गर्न र चालु आ.व.को बजेटलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न यो बैठक सरकारलाई अनुरोध गर्दछ । संसद नेपाली जनताको सार्वभौम र शिर्षस्थ संस्था हो । कानून निर्माण गर्ने, सरकारका काम, कारबाहीमा निरन्तर अनुगमन र निगरानी गरी सरकारलाई सदनकाप्रति जवाफदेही बनाउने, देश र जनताका महत्वपूर्ण एवं समसामयिक विषयमा छलफल गरी राष्ट्र र जनताको सर्वोत्तम हीतमा काम गर्नु संसदको मुख्य काम हो । तसर्थ संसद जति क्रियाशील र प्रभावकारी हुनसक्यो त्यति नै देश र जनताका हीतमा काम हुनसक्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफलिभुत हुने भएको हुँदा संसदलाई पूर्ण रुपले प्रभावकारी बनाउनु पर्दछ । नेपाली काँग्रेस संसदीय दलको यो बैठक संघीय संसदलाई प्रभावकारी बनाएर निरन्तर काम गरिरहने प्रतिवद्धता व्यक्त गर्दछ ।

Publish on: