बजेटका कमी कमजोरी सुधार्दै प्रभावकारी कार्यान्वयका लागि सरकारसमक्ष कांग्रेसको अनुरोध

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले चालु आर्थिक वर्षको बजेटमा भएका कमी, कमजोरीहरुलाई सुधार गर्दै बजेटको प्रभावकारी कार्यान्वयनका लागि सरकार समक्ष अनुरोध गरेको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘आव २०८०/८१ को बजेट पारित भइसकेको छ । बजेटमा देखा परेको कमी, कमजोरीलाई आगामी दिनमा सुधार गर्ने आवश्यक व्यवस्था मिलाउन पुँजीगत खर्च कम हुने अवस्थालाई उचित ढंगले सम्बोधन गर्न र चालु आवको बजेटलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न यो बैठक सरकारलाई अनुरोध गर्दछ ।’

त्यसैगरी कांग्रेस संसदीय दलको बैठकले उपभोग्य वस्तुको मूल्यवृद्धि र कालाबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस बैठकले अवैध ढंगले पैठारी भइ त्रिभुवन विमानस्थलबाट बाहिर निस्किइ पक्राउ गरिएको एक क्विन्टल सुनको विषयमा ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएको छ ।

त्रिभुवन विमानस्थलजस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट नै अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय कांग्रेसको ठहर छ ।