अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ « Eglish Khabarhub

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका छन् ।

बुधबार काठमाडौंको प्रज्ञाभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ल्यापटपमा कि थिच्दै योजनाको शुभारम्भ गरेका हुन् ।

यससँगै आजदेखि अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम योगदान गरेर कोषमा आवद्ध हुन सक्ने सामाजिक सुरक्षा कोषले जनाएको छ ।

कोषका प्रवक्ता विवेक पन्थीका अनुसार योगदान रकमको ११ प्रतिशत सम्बन्धित व्यक्ति र बाँकी सरकारका तर्फबाट नौ दशमलव ३७ प्रतिशत जम्मा हुनेछ । सरकारका तर्फबाट जम्मा गरिने रकम संघ, प्रदेश वा स्थानीय तहले जम्मा गरिदिने वा त्यस्तो रकम योगदानकर्ता आफैँले जम्मा गर्न सक्नेछन् ।

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार तोकेको छ । जसमा आधारभूत पारिश्रमिक नौ हजार तीन सय ८५ र महँगी भत्ता पाँच हजार छ सय १५ तोकिएको छ । त्यस्ता श्रमिकले आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत आफैँ जम्मा गर्न सक्ने व्यवस्था अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ मा व्यवस्था गरिएको छ ।

अनौपचारिक श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्ने कोषले जनाएको छ ।

उक्त योजनामा सहभागी श्रमिकले तोकिएको अस्पतालमा वार्षिक एक लाखको औषधोपचार सुविधा प्राप्त गर्नेछन् । बिरामी हुँदा वा सुत्केरी भएको अवस्थामा आधारभूत परिश्रमिकको ६० प्रतिशत रकम, जुनसुकै कारणबाट दुर्घटना हुँदा सात लाख उपचार खर्च र अशक्तता भएको अवस्थामा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम पाउनेछन् ।

कोषले प्रदान गर्ने औषधोपचार, दुर्घटना तथा आश्रित परिवार सुविधा प्राप्त गर्न योगदानकर्ताले कम्तीमा नौ महिना तथा वृद्धावस्थाबापतको सुविधा प्राप्त गर्न ६० वर्ष उमेर पुग्नुका साथै कम्तीमा एक सय ८० महिना योगदान गरेको हुनुपर्नेछ ।

कसरी सहभागी हुने ?
अनौपचारिक श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिले कोषमा आवेदन दिएर उक्त योजनामा सहभागी हुन सक्ने जनाइएको छ ।

आवेदनका लागि स्वरोजगारमा रहेका व्यक्तिले नागरिकताको प्रतिलिपि, व्यवसाय दर्ता गरेको भए प्रमाणपत्र, वडा कार्यालयको सिफारिस, आफूले मासिक रूपमा गर्ने योगदान रकम, प्यान वा कर दर्ता प्रमाणपत्र र सम्पर्क नम्बर पेस गर्नुपर्ने छ ।

अनौपचारिक क्षेत्रका श्रमिकले नागरिकताको प्रतिलिपि, आफूले श्रम गरिरहेको क्षेत्र (कृषि, यातायात, निर्माण वा घरेलु कामदार), वडा कार्यालयले निज उक्त क्षेत्रमा कार्यरत श्रमिक हो भनी गरेको सिफारिस पत्र पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधि अनुसार सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना घटेको भन्दा अघिको बाह्र महिनामा कम्तीमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ ।

यसै गरी अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १८० महिना योगदान गरेको हुनुपर्ने छ ।

Publish on: