नेपालदेखि चीनको केरुङ जोड्ने उच्‍च भोल्टेजको प्रसारण लाइन निर्माणमा पहल गर्छौं: कुलमान « Eglish Khabarhub

नेपालदेखि चीनको केरुङ जोड्ने उच्‍च भोल्टेजको प्रसारण लाइन निर्माणमा पहल गर्छौं: कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालबाट चीनको केरुङ जोड्ने प्रसारण लाइन निर्माणमा पहल गर्ने भएको छ ।

शुक्रबार प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वार्षिक प्रतिवेदन पेस गर्दै विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रातमाटेदेखि चीनको केरुङ्ग जोड्ने उच्‍च भोल्टेजको प्रसारण लाइन निर्माण गर्न विशेष पहल गरिने जनाएका हुन् ।

प्राधिकरणले आफ्नै तथा सहायक कम्पनी एवम् संयुक्त उपक्रमको कम्पनीहरुमार्फत जलविद्युत आयोजनाहरु निर्माण गर्ने कार्यलाई निरन्तरता दिई ठूला जलाशययुक्त तथा आकर्षक जलविद्युत आयोजनाहरु निर्माणमा केन्द्रित रहने उनले जनाए ।

६३५ मेगावटको दुधकोशी जलाशयक्त आयोजना, १०६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर-सेती, ९९ मेगावाटको तामाकोशी-५ र ६० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाको निर्माण कार्य प्राथमिकताको साथ अगाडि बढाइने घिसिङको भनाइ छ ।

त्यस्तै ४९०.२ मेगावाटको अरुण-४ जलविद्युत आयोजना सतलज जलविद्युत निगम लिमिटेडसँग संयुक्तरुपमा निर्माण गर्ने कार्य अघि बढाइने उनले बताए । नेपाल र बंगलादेशको चौथो संयुक्त निर्देशक समितिको बैठकमा समझदारी भएअनुरुप निकट भविष्यमा ६३८ मेगावाटको सुनकोशी तेश्रो जलविद्युत आयोजना साझेदारीमा निर्माण गर्ने प्रकृया अघि बढाइने घिसिङको भनाइ छ ।

उपलब्ध जलश्रोतको अधिकतम उपयोग गरी बर्षायाममा बढी विद्युत उत्पादन हुने गरी प्रवर्द्धकहरुले जलविद्युत आयोजनाहरुको डिजाइन गर्न सक्ने प्रावधान राखी नयाँ विद्युत खरिद सम्झौता नीति लागु गर्ने सम्बन्धमा आवश्‍यक अध्ययन गरी उपयुक्त व्यवस्था अवलम्बन गरिने उनले बताए ।

न्यू बुटवल-गोरखपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइन निर्माण कार्यलार्इ तिव्रता दिइनेछ । ४०० केभी अन्तर्देशीय प्रसारण लाइन आयोजनाहरुः इनरुवा-पुर्णिमा र दोदोधरा-बरेली सन् २०२८/२९ सम्ममा निर्माण सम्पन्‍न गर्ने गरी कार्यान्वयनमा लगिने घिसिङले बताए ।

काठमाडौं उपत्यकाको ६ लाख ग्राहकको घरमा पूर्व जडित मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी स्वचालित मिटरिङ्ग पूर्वाधार प्रणालीमा आवद्ध गर्ने कार्य छिट्टै शुरु गरिने उनलेब ताए । साथै मुलुकभरका ग्राहकको घरमा जडान भएका मिटरलाई क्रमश:स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य अगाडि बढाइने उनको भनाइ छ ।

Publish on: