शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा, एक वर्षमा विदेशी मुद्राको सञ्चिति २३% बढ्यो « Eglish Khabarhub

शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा, एक वर्षमा विदेशी मुद्राको सञ्चिति २३% बढ्यो



काठमाडौं । गत आर्थिक वर्षमा शधानान्तर स्थिति (देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर) २ खर्ब ९० अर्ब रुपैयाँले बचतमा रहेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार गत आर्थिक वर्षको भदौसम्म २३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति असार मसान्तमा पुग्दा २ खर्ब ९० अर्ब रुपैयाँले बचतमा गएको छ ।

गत वर्ष रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्दै १२ खर्ब २० अर्ब माथि पुग्दा आयात १६ प्रतिशतले घटेर १६ खर्ब ११ अर्बमा सीमित भएपछि शोधनान्तर स्थिति बचतमा गएको हो ।

शोधनान्तर स्थित बचतमा भए पनि चालु खाताको घाटा भने बढेको छ । गत फागुनमा चालु खाता घाटा २९ अर्ब ६४ करोड रुपैयाँ पुगेकोमा असार मसान्तमा बढेर ७२ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जेठ महिनाको तुलनामा चालु खाता घाटा २ अर्ब ७६ करोड रुपैयाँले बढेको छ ।

चालु खाता घाटा बढ्नुको अर्थ हुन्छ, रेमिट्यान्स आप्रवाह, पर्यटन आयलगायतले आयात धान्न पुगेको छैन ।

गत आर्थिक वर्षमा बैंक वित्तीय संस्थाले विदेशी मुद्रामा कर्जा ल्याउनुको साथै सरकारले पनि १ खर्ब ५० रुपैयाँ वैदेशिक ऋण र सहायता लिएकाले पुँजीगत खाता बचतमा हुँदा समग्र शोधनान्तर स्थिति बचतमा गएको हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब रुपैयाँले घाटामा थियो ।

गत आर्थिक वर्षमा शोधनान्तर स्थिति बचतमा गएसँगै विदेशी मुद्राको सञ्चिति बढेको छ । अघिल्लो वर्ष असार मसान्तमा ९ अर्ब ५३ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति एक वर्षमा २३ प्रतिशतले बढेर ११ अर्ब ७३ करोड डलर पुगेको छ ।

अघिल्लो वर्ष लगातार विदेशी मुद्राको सञ्चिति घटेकोमा चाल आर्थिक वर्षको एक महिनामा विदेशी मुद्राको सञ्चिति ४४ करोड डलरले बढेको छ ।

उक्त सञ्चितिले ११.७ महिनाको वस्तु र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्नेछ । गत वर्षको असार मसान्तमा ७.८ महिनाको वस्तु र ६.९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति थियो ।

Publish on: