‘दुर्गा प्रसाईंको अभिव्यक्ति गैरजिम्मेवार र निन्दनीय’ « Eglish Khabarhub

‘दुर्गा प्रसाईंको अभिव्यक्ति गैरजिम्मेवार र निन्दनीय’



काठमाडौं । वीरगन्ज महानगरपालिकाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।

महानगरपालिका प्रमुख राजेशमान सिंहले विज्ञप्ति जारी गरी मारवाडी समुदायप्रति प्रसाईंले लगाएको आरोप निन्दनीय र आपत्तिजनक रहेको बताएका हुन् ।

‘सम्पूर्ण मारवाडी समुदायलाई नै लक्षित गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस तुल्याएको भन्नेजस्ता गैरजिम्मेवारपूर्ण सार्वजनिक अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछु,’ सिंहद्वार हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कसैको व्यक्तिगत विषयलाई लिएर सम्पूर्ण समुदायलाई नै आघात पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय छ ।’

महानगर प्रमुख सिंहले सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा कायम राख्न सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

विज्ञप्तिमा औद्योगिकीकरण र व्यावसायिक लगानीमार्फत मुलुकमा रोजगारी सिर्जना गरी अर्थतन्त्र चलायमान बनाउन मारवाडी समुदायको ठूलो योगदान रहेको उल्लेख छ ।

‘सामाजिक उत्तरदायित्वअन्तर्गत पर्ने अन्य क्षेत्रमा पनि मारवाडी समुदायको उत्साहजनक सहभागिता रहँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

झापास्थित बी एन्ड सी मेडिकल कलेज एवं पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक प्रसाईंले विभिन्न मिडियादेखि युट्युबलगायतका सामाजिक सञ्जालमार्फत मारवाडी समुदायले देशको अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाउँदै आएका छन् ।

उनले मारवाडी समुदायले नेपालबाट यूएईको दुबईदेखि सिंगापुर, हङकङलगायतका सहरमा पैसा लगेर देशलाई टाट पल्टाउन खोजेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । व्यवसायी प्रसाईंको समुदायलक्षित आरोपको व्यापक विरोध हुँदै आएको छ।

प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका नामबाट शनिबार पनि विज्ञप्ति जारी गरी मारवाडी समुदायलाई लाञ्छित गरेका थिए ।

Publish on: