संस्कृतिविद् ज्ञानकाजी मानन्धरको निधन « Eglish Khabarhub

संस्कृतिविद् ज्ञानकाजी मानन्धरको निधन



काभ्रे । वरिष्ठ संस्कृतिविद् एवं साहित्यकार ज्ञानकाजी मानन्धरको निधन भएको छ । महर्जनको आज बिहान ८९ वर्षको उमेरमा निधन भएको हो ।

विसं १९९१ पुसमा वाङ्ख्योटोलमा जन्मिएका मानन्धर संस्कृतिका मर्मज्ञ र दीर्घकालीन शिक्षा तथा समाजसेवी थिए ।

काभ्रेको बनेपाका उनले नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा समेत थुप्रै कृति एवं ज्ञानगुनका कुरा लेखेका छन् । लामो समयदेखि शिक्षा, साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका मानन्धरको व्यक्तित्व र कृतित्व चिनाउने धेरै खोजमूलक लेख र पुस्तक प्रकाशित छन् ।

यस्तै बनेपाको चण्डेश्वरी, साँखुको खड्गयोगिनी, काठमाडौँको कुमारी, भक्तपुरको नवदुर्गा, पनौतीको इन्द्रेश्वर महादेव, कीर्तिपुरको बाघभैरव, गोरखाको गोरखनाथ, जनकपुरको सीता, काठमाडौँको खास्ती चैत्य आदिबारे उनका ऐतिहासिक तथ्यसहित खोजमूलक कृति तथा लेख रचना प्रकाशित छन् । उनको दोलखा भीमसेनको इतिहास प्रकाशोन्मुख अवस्थामा थियो ।

संस्कृतिका प्रकाशित पुस्तकमा द लेजेन्ड अफ कुमारी, खड्गजोगिनी, श्वेतचैत्य, नेपाल–आख्यान र नाटक, कपिलवस्तुस भगवान्, बनेपा स्तवन, अरनिकोया श्वेतचैत्य, बनेपा सातगाउँ, मानन्धर तय्गु विषय छुँ खँ र पश्चाताप प्रकाशित छन् ।

उनी काभ्रेमा अंग्रेजी विषयमा बीएड गर्ने पहिलो व्यक्ति र ‘बनेपाको इतिहासका पिता’का रुपमा पनि परिचित छन् ।

Publish on: