२९ मंसिर २०८२, आइतबार

एन्टिबायोटिक औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । औषधि व्यवस्था विभागले प्रतिजैविक (एन्टिबायोटिक) औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन् भन्नका लागि रातो धर्का राख्न निर्देशन दिइएको बताए ।

‘उपभोक्तले रातो धर्का भएको औषधि चिकित्सकको पर्चा (प्रिस्क्रिप्सन)को आधारमा खानुपर्छ, जथाभावी नखाउन् भनेर प्रतिजैविक औषधिमा रातो धर्काको अभियान सञ्चालन गरेका छौं,’ उनले भने, ‘औषधिको लेवलमा रातो धर्का भएमा उपभोक्ताले जथाभावी रुपमा नखानु भनेर सचेत गराइने छ ।’

उनले रातो धर्का भएको औषधि प्रतिजैविक औषधि हो भनेर उपभोक्तालाई चिनाउन पनि अभियान सञ्चालन गरिएको बताए ।

विभागले बजारीकृत हुने समूह ‘ख’ प्रतिजैविक वर्गको औषधिको पहिलो र दोस्रो ‘प्याकिङ’ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा ६ महिनापछि उत्पादन हुने औषधिमा अनिवार्य रुपमा लेवलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ ।

प्रतिजैविक औषधिको प्रयोगबारे प्रयोगकर्तालगायत गैरस्वास्थ्यकर्मीले सजिलै पहिचान गर्न रातो धर्का कोर्ने प्रावधान लागू गरेको जनाइएको छ । प्रतिजैविक औषधिको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रतिजैविक औषधिको पहिलो र दोस्रो प्याकिङ्गको लेवलमा रातो धर्का लगाउने अभ्यास रहँदै आएको छ ।