२९ मंसिर २०८२, आइतबार

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अधिकृतविरुद्ध शैक्षिक प्रमाणपत्र किर्ते मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेका अधिकृतविरुद्ध शैक्षिक प्रमाणपत्र किर्ते मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छैटौं तहका अधिकृत हिमकुमारी सुनार पुनविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएर सरकारी नियुक्ति लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सरकारी नियुक्ति लिन पुनले शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्दा माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अख्तियारको अनुसन्धानबाट खुलेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पुन राजपत्र अनंकित द्वितीय श्रेणीको महिला कार्यकर्ताको पदमा सेवा प्रवश गरेकी थिइन् । हाल उनी अधिकृतस्तरको छैटौं तहमा कार्यरत छिन् ।

अख्तियारले नक्कली प्रमाणपत्रमा सरकारी सेवा प्रवेश गरी लाभ र सुविधा प्राप्त गर्नु भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको ठहर गरेको छ । सोही कसुरमा पुनलाई ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना माग दाबी गरी आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको दाहालले बताए ।