शैलुङको पर्यटन प्रवर्द्धन गर्न ‘वाइल्ड स्टे विथ चौंरी’ हुने « Eglish Khabarhub

शैलुङको पर्यटन प्रवर्द्धन गर्न ‘वाइल्ड स्टे विथ चौंरी’ हुने



काठमाडौं । दोलखा जिल्लाका शैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत ‘वाइल्ड स्टे विथ चौंरी’ को आयोजना गर्ने भएको छ ।

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौरीगोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमरदीप भट्टराइले जानकारी दिए ।

असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चर आयोजना हुने भएको छ । क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भन्डारी, कलाकार निखिल उप्रेती, संदिप क्षेत्री, दिलिप रायमाझी, गायक यश कुमार, गरिमा शर्मा तथा लेखक बुद्धिशागर तथा ट्राभलर सिर्जना सिज्जुलगायतको उपस्थिति रहने भट्टराइले जानकारी दिए ।

असोज ११ गते बिहान काठमाडौंदेखि शैलुङको यात्रा सुरू हुनेछ । असोज १२ गते चौरी गोठ र शैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकले जनाएको छ । सोही दिन साँझ स्थानीय सांस्कृतिक कार्याक्रमसहित रैथाने खानामा रमाइनेछ ।

आन्तरिक पर्यटनको खोजी गर्ने, चौरीसँग जंगलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरूको पहिचान गरिने बताइएको छ ।

हिमालयको ‘पानारोमा भ्यु’, लेकाली फूल र उच्च पहाडी इलाकाको अविश्वसनीय दृश्यको अनुभव गर्न सहभागी हुनुपर्ने भट्टराई बताउँछन् । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ ।

वर्षौंदेखि ओझेलमा परेका वा विदेश भ्रमणका कारण पहिलो रोजाइमा नपरेका आन्तरिक गन्तव्यहरुको खोजी गर्न स्पार्क एड्भेन्चरलाई भविस्यमा पनि निरन्तरता दिइने संयोजक भट्टराईको भनाइ छ ।

विवाईडी र स्पार्क कारको सहकार्यमा साउथ एसियामा सबैभन्दा बढी विद्युतीय गाडी परिचालन गर्ने संस्थाको रुपमा स्पार्क कार रहेको भट्टराईले बताए । स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा संस्थालाई आवश्यक सबै सवारीसाधन विद्युतीय मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ ।

Publish on: