काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालयहरुमा पठनपाठन भए/नभएको हेर्न उपमेयरसहितको टोली अनुगमनमा गएको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरकाअनुसार उपमेयर सुनिता डंगोलसहितको टोली शिक्षकहरुको आन्दोलनकाबीच विद्यालयमा पठनपाठन प्रभावित भए/नभएको अनुगमन गर्न गएको हो ।
विद्यालयमा आन्दोलनका कारण पठनपाठन अवरुद्ध भएको पाइएमा अनुगमनकै क्रममा उपमेयर डंगोलसहितको टोलीले निर्णय गरेर कारबाही गर्ने पनि उनले बताए ।
बुधबारबाट देशभरिका विद्यालय बन्द गरी शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं केन्द्रित आन्दोलनमार्फत सरकारले ल्याएको शिक्षा विधेयकको विषयमा उनीहरुल बिरोध गरिरहेका छन् ।
यसबीच काठमाडौं महानगरपालिकाले भने शिक्षा विधेयकमा आफूहरुको पनि असहमति भएको तर, आन्दोलनका नाममा विद्यालयमा पठनपाठन अवरुद्ध गर्न नपाइने र भएको खण्डमा कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले शिक्षा विधेयकको बिरोध गरिरहँदा विद्यालयमा पठन पाठन बन्द भएको खण्डमा कानुनअनुसार कारबाही गरिने बताएका छन् ।
त्यस्तै, महानगरको शिक्षा विभागले पनि बुधबार विज्ञप्ति निकाल्दै शिक्षकका पेसागत विकासका लागि माग राख्ने र पूरा गर्ने विधि तथा प्रक्रियाको मार्ग अरु प्रशस्तै हुँदा हुँदै विद्यालय शान्तिक्षेत्र र प्रचलित कानुन विपरित विद्यालय बन्द नगर्न अनुरोध गरिएको र गरिएको खण्डमा कारबाही गर्ने पनि जनाएको छ ।
यता आन्दोलनरत शिक्षकहरुको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघको काठमाडौं महानगरपालिका समितिले भने आफूहरुले बिदाका दिनमा विद्यालय खोलेर पठनपाठन गराउने र काठमाडौं महानगरपालिकाले निकालेको विज्ञप्ति धम्कीपूर्ण र खेदजनक भएको पनि जनाएको छ ।
इसबै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग आज बिहान भएको छलफल निष्कर्ष बिहीन भएको छ । बिहीबार पनि शिक्षकहरुले माइतीघरबाट नयाँबानेश्वरसम्म र्याली गर्ने र त्यहाँबाट फर्किएर माइतीघरमा कोणसभा गर्ने जनाएका छन् ।
SHARE YOUR THOUGHTS