काठमाडौं । पछिल्लो समय मानिसले आफूसँग भएको पैसा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने क्रम बढ्दै गएको छ। नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाको चल्ती, बचत तथा अन्य खालका बचतमा भन्दा मुद्दती निक्षेपमा पैसा राख्ने क्रम बढ्दो छ ।
नेपाल राष्ट्र बैंककाअनुसार एक वर्षको अवधिमा बैंकको मुद्दती निक्षेपमा पैसा राख्ने क्रम ४.२५ प्रतिशतले बढेको छ । २०७९ साउनमा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको अंश ५८.५ प्रतिशत रहेको थियो ।
२०८० साउन मसान्तसम्म ४.२५ प्रतिशतले बढेर ६१.३ प्रतिशत रहेको छ । यो अवधिमा चल्ती, बचत र अन्य बचतमा राख्ने पैसाको अंश भने घटेको छ ।
गत आवको साउनमा चल्ती खातामा राख्ने पैसाको अंश ७.२ प्रतिशत रहेको थियो । अहिले ३०.५५ प्रतिशतले घटेर ५ प्रतिशत रहेको छ । यसले बैंकमा बचतको अंश घट्दै जान थालेको देखाएको छ भने मुद्दतीमा जम्मा हुने रकम भने बढ्दै गएको छ ।
केन्द्रीय बैंककाअनुसार २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको बचतको अंश २६.९ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बचतको अंश ०.७४ प्रतिशतले घटेर २६.७ प्रतिशत रहेको छ । राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा नै बैंक तथा वित्तीय संस्थामा बचत घट्दै जाँदा निक्षेप बढ्दै गएको छ ।
पछिल्लो समय बैंकको बढ्दो ब्याजदरको प्रभाव निक्षेपमा देखिएको छ । अहिले बचतमाभन्दा बढी ब्याज मुद्दती निक्षेपमा पाइन्छ । बचत र मुद्दती निक्षेपको ब्याज अन्तर ५ प्रतिशत रहेको छ ।
केही समयअघि देखि नै बैंकिङ प्रणालीमा निक्षेप अभाव भएपछि बैंकहरुले धमाधम ब्याज बढाए । ब्याज बढाएपछि निक्षेपमा बढी ब्याज पाउने भएसँगै निक्षेपकर्ताको आकर्षण यता देखिएको छ । अहिले मुद्दती निक्षेपमा थोरै समयमा लागि पनि पैसा राख्न सकिन्छ । जसले गर्दा मुद्दती निक्षेपमा आकर्षण बढेको बैंकर्सहरुको तर्क छ ।
छोटो समयका लागि मुद्दती निक्षेपमा पैसा राख्न चाहनेको संख्या बढ्दै गएको छ । पछिल्लो समय बैंकले तीन महिना, ६ महिना, १ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेप लिने गरेका छन् । ब्याजदरमा भने खासै अन्तर देखिँदैन । ब्याजदर उस्तै उस्तै भएपछि थोरै समयका लागि मुद्दती निक्षेपमा पैसा राख्नेहरुको संख्या बढेको हो ।
अहिले तीन महिनादेखि बढी अवधिका लागि मुद्दती निक्षेपमा पैसा राखेर ब्याज पाउन सकिन्छ । अहिले बैंकहरुले मुद्दती निक्षेपमा पैसा राख्दा ११.०५४ प्रतिशतसम्म ब्याज दिने गरेका छन् ।
पछिल्लो समय बैंकहरुले ल्याएको मोबाइल एपबाट नै मुद्दती निक्षेप राख्न सकिन्छ । जसले गर्दा बैंकमा मुद्दती निक्षेपको अंश बढ्न थालेको छ । आफूसँग भएको थोरै थोरै पैसा राख्न बैंकमा पुग्न नपर्ने भएका कारण पनि सेवाग्राहीलाई सहज भएको बैंकर्सहरुको तर्क छ ।
राष्ट्र बैंककाअनुसार २०८० साउन मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ करोड १२ लाख ८१ हजार ५४६ पुगेको छ ।
केही समय अघि मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशतभन्दा बढी रहेको थियो । त्यो बेलादेखि नै मुद्दती निक्षेपमा पैसा राख्ने क्रम बढेको देखिन्छ ।
‘एक समयमा बैंकको ब्याजदर १२ प्रतिशतभन्दा बढी हुँदा देखि नै मुद्दति निक्षेपमा पैसा राख्ने क्रम बढेको देखिन्छ’ बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘त्यो समयमा धेरै ब्याज पाउने भएर मुद्दतीमा पैसाको अंश बढ्यो, त्यो समयमा सेयर बजार, घर जग्गाको कारोबारमा राम्रोसँग भइसकेको थिएन । त्यो समयमा आफूसँग भएको पैसा लगानी गर्न नपाउँदा मुद्दती निक्षेपमा राख्ने क्रम बढेको हो ।’
अहिले बढी ब्याज भएको समयमा मुद्दती निक्षेपको अंश बढेता पनि ब्याजदर घट्दै जाने हो भने पुनः बचतको अंश बढ्ने केसीको भनाइ छ । ‘सेयर बजार बढ्ने, घर जग्गाको कारोबार हुने, अन्य लगानीका क्षेत्रहरु पर्याप्त मात्रामा थपिँदै जाने हो भने बचतको अंश बढ्न थाल्छ’ उनले भने । अहिले बैंकिङ सेवा गाउँ-गाउँ पुग्दा पनि सर्वसाधारणको आकर्षण बढेको उनले बताए।
SHARE YOUR THOUGHTS