![](https://internal.appharu.com/wp-content/uploads/2023/09/FURNEX1-768x402.jpg)
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) आयोजना हुने भएको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी एक्स्पोको तयारीबारे जानकारी गराइएको छ ।
‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने मुख्य थिममा आयोजना हुने एक्स्पोको असोज १० गते दिउँसो १ बजे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्नेछन् ।
नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ सम्म एक्स्पो आयोजना हुने जानकारी दिएको छ । यसअघि नै आयोजकले फर्नेक्सको इभेन्ट लन्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको थियो । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुला गरिएकोमा एकाधबाहेकका सबै स्टल बुकिङ भइसकेको संघले जनाएको छ ।
नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । ‘आर्थिक गतिविधि सुस्त भइरहेका बेला एक्स्पोले चलायमान बनाउन सघाउने विश्वास लिएका छौं,’ उनले भने । एक्स्पोमा प्रवेश नि:शुल्क गरिएको छ ।
मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन संघले पहलकदमी लिँदै आएको एक्स्पोका संयोजक निकुञ्ज अग्रवालले बताए । हरेक वर्ष आयोजना भइरहेको फर्नेक्सले यो अभियानलाई सहयोग गरिरहेको भए पनि पछिल्ला दिनमा सरकारले गरेको नयाँ व्यवस्थाका कारण स्वदेशी उत्पादनको बजार विस्तार चुनौतीपूर्ण भएको उनको भनाइ छ ।
एक्स्पोमा १०० भन्दा बढी स्टल रहनेछन् । ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहनेछ ।
फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवर्धन तथा विकासका लागि एक्स्पो सन् २०१२ देखि आयोजना हुँदै आएको नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव सञ्जय लामाले जानकारी दिए ।
प्रतिक्रिया