![](https://internal.appharu.com/wp-content/uploads/2023/09/hastakal-768x512.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका मौलिक सिप र उत्पादनसँग जोडिएका वस्तु तथा उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने कार्याक्रम कार्यान्वयनमा ल्याएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत एक वडाः एक नमुना कार्यक्रममार्फत मौलिक सिप र उत्पादनसँग जोडिएका वस्तु तथा उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिएका हुन् । उक्त कार्यक्रमको उदेश्य मौलिक सिप र उत्पादनलाई प्रवद्र्धन गरेर वडा र टोल स्तरमा नागरिकलाई उद्यमी बनाउने र जीवनयापन पद्धतिलाई सहज बनाउने रहेको बालेनले बताएका छन् ।
महानगरभित्रका वडाहरुमा आफ्नै छुट्टै परिचान भएको र विभिन्न सामग्री तथा वस्तुहरुले सो क्षेत्रको पहिचान गराउने बताउँदै बालेनले हरेक वडा कार्यालयलाई आफ्नो मौलिक उत्पादन र वडा स्तरीय उद्यमशीलता पहिचान गरेर पठाउन पत्रचार गरेको जानकारी दिएका छन् ।
‘वडाहरुमा हुँदै आएका परम्परागत पहिचानहरु उद्यमशीलतासँग जोडिएका छन्’, उनी लेख्छन्, ‘अहिलेसम्म जोडिएका छैनन् भने अब जोडन सकिन्छ । स्थानीय स्तरमा आय आर्जनका लागि अवसर सिर्जना गर्न सकिन्छ ।’
महानगरले यस्ता उद्यमशीलतालाई पहिचान गर्ने बताउँदै बालेनले यस्ता सम्भावनाहरुलाई आफ्नो वडा वा महानगरपालिकाको सामाजिक विकास विभागमा लेखेर पृष्ठपोषण गर्न पनि आग्रह गरेका छन् ।
SHARE YOUR THOUGHTS