काठमाडौं । अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवद्र्धनमा चासो देखाएका छन् ।
नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गरे ।
पहिलो पटक नेपाल भ्रमण आएका उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि काठमाडौँमा भएको एक अन्तरक्रियामा अमेरिकामै बसेर नेपालको पर्यटन प्रबद्र्धनका लागि सक्रिय हुने बताए । ‘मेरो खुसीको सीमा छैन’, भोजनीले भने, ‘अमेरिकामा रहनुहुने नेपालीहरुको सहयोगले नै आज म यो स्थानमा आइपुगेको छु, त्यसैले मलाई नेपाल र नेपालीप्रति असाध्यै धेरै माया र सद्भाव जहिल्यै रहिरहन्छ ।’
पाकिस्तानी मुलका भोजनी अमेरिकी–टेक्सास राज्यमा पहिलो मुसलमान समुदायका सांसद हुन् । उनी नेपाली समुदायबीच निकै लोकप्रिय छन् । निर्वाचनका बेला ढाका टोपी र दौरा सुरुवालमा नेपालीहरुमाझ मत मागेको स्मरण गर्दै भोजनीले नेपाल र नेपालीको हितका लागि सदैब सक्रिय भइरहने उल्लेख गरे । उनले भने, ‘टेक्सासमा नेपाली समुदायको बाहुल्यता छ, निर्वाचनका बेला मैले नेपालीमा कुराकानी गरेर भोटमागे मलाई जिताउनुस् म तपाईंहरुको सेवामा समर्पित हुनेछु ।’
नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम भएको भन्दै उनले पर्यटनको माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताए । ‘पर्यटन नेपालको अर्थतन्त्र उकास्ने महत्वपूर्ण माध्यम हो । विश्वको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनीजस्ता ऐतिहासिक सम्पदा नेपालको सान र गौरव हुन् यसैबाट नेपालले समृद्धितर्फको यात्रा तय गर्न सक्छ’, सांसद भोजनीले भने ।
पर्यटन गीत
त्यस अवसरमा मिशन इन्टरटेनमेन्टद्वारा निर्मित नयाँ नेपाली पर्यटनसम्बन्धी बाल गीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ सार्वजनिक गरिएको थियो । उक्त गीतमा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको आकर्षक प्रस्तुत गरिएको छ । गीतले युवा पुस्तालाई पर्यटन विकासमा सक्रिय हुन बाल शिक्षा र सन्देश दिएको छ । उक्त भिडियोमा डा भोला रिजालले शब्द रचना, बीपी वाग्लको संगीत र भद्र ओली, सरगमश्री भट्टराई र विदित अधिकारीले स्वर रहेको छ ।
पर्यटन गीत लोकार्पण एवं अन्तरक्रियामा सहभागी नेपाली सांगीतीक क्षेत्रका चर्चित सष्टाहरुले अमेरिकी सांसदले नेपालप्रति देखाएको मोहलाई नेपालीले लाभ लिनसक्नुपर्ने बताए । गीतले नेपालका विभिन्न ठाउँ घुम्न प्रेरित गर्छ । भिडियोमा एनिमेसनको अवधारणा विश्वव्यापी रूपमा स्वीकार गरिएको नवीनतम प्रविधिलाई स्वीकार गर्नु र बच्चाहरूलाई सिक्ने नयाँ तरिकाहरू अनुभव गर्न प्रोत्साहित गर्नु भएको संगीतका बिपी वाग्लेले बताए ।
SHARE YOUR THOUGHTS