विद्युत आपूर्ति सहज बनाउन ललितपुरमा सबस्टेन निर्माण हुने, ३ हजार वर्ग मिटर जमिन अधिग्रहण गरिँदै « Eglish Khabarhub

विद्युत आपूर्ति सहज बनाउन ललितपुरमा सबस्टेन निर्माण हुने, ३ हजार वर्ग मिटर जमिन अधिग्रहण गरिँदै



फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको विद्युत आपूर्तिलाई सहज बनाउन ललितपुरमा निर्माण हुने सबस्टेसनका लागि जग्गा अधिग्रहण गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारले संयुक्त लगानीमा प्राधिकरणमार्फत ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा बन्ने १३२-११ केभी क्षमताको सबस्टेसन निर्माण गर्न जग्गा अधिग्रहण गर्न लागेको हो । कुल ३ हजार ७१.८७ वर्गमिटर जग्गा अधिग्रहण गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गरिने जनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका साथै काभ्रेसहित चार जिल्लामा भरपर्दो विद्युत् आपूर्ति गर्न र आकस्मिक विद्युत आपूर्ति बन्द हुने अवरोधलाई न्यूनिकरण गर्न उपत्यकाभित्र ६६ केभी, १३२ केभी र २२० केभीका प्रसारण लाइन तथा सबस्टेसन सुधार, स्तरोन्नती तथा विस्तारका गरिदैं छ ।

यसका लागि प्राधिकरणले विभिन्न ठाउँका जग्गाहरु स्थायी रुपमा प्राप्ती गर्नुपर्ने भएकाले हाललाई ललितपुरको सुनाकोठीमा निर्माण हुने सबस्टेसनका लागि ३ हजार ७१.८७ वर्गमिटर जमिन अधिग्रहण गर्न लागेको हो ।

सबस्टेसन निर्माण गरेर आगामी ३० वर्षसम्म ललितपुर जिल्ला भित्र हुने विद्युतको मागलाई पुरा गर्ने र भविष्यमा प्रसारण लाइन तथा सबस्टेसन अभावका कारण हुन सक्ने लोडसेडिंगलाई अन्त्य गर्ने प्राधिकरणले जनाएको छ ।

सबस्टेसन निर्माणका लागि अधिग्रहण हुने जग्गाका जग्गा धनिहरुले आगामी ३० दिनभित्रमा आफ्नो जग्गा तथा त्यहाँ रहेको घर टहरालगायतको समेत मुआब्जाका लागि दाबीसहित निवेदन दिनुपर्ने जिल्ला प्रशासन कार्यालय ललितपुरको सूचनामा उल्लेख छ ।

Publish on: