
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ राजस्व समितिका सभापति अम्बिका पौडेलले पुँजीगत लाभकरको विषयमा स्पष्ट व्यवस्था आवश्यक रहेको बताएका छन् ।
‘अहिले लगानीकर्ता सबैभन्दा धेरै त्यसैमा अल्मलिएका छन्,’ विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा आयोजित अन्तर्क्रिया तथा समापन समारोहमा उनले भने, ‘पुँजीगत लाभकर नै अन्तिम कर हुनुपर्छ भनेर माग गरिरहँदा आर्थिक ऐनमार्फत लगानीकर्तामा डरलाग्दो तरबार झुन्ड्याइएको छ ।’
पौडेलले आफू उद्योग वाणिज्य महासंघको पुँजीबजार समितिको सभापति हुँदा धितोपत्र बोर्डमा बुझाएको सुझाव कार्यान्वयनमा थप छलफल गर्न आग्रह गरे । ‘पुँजीगत लाभकरको विषय पनि टुंगोमा पुर्याउन जरुरी छ,’ उनले भने ।
ट्रेडर र इन्भेस्टर को हो भनेर आन्तरिक राजस्व विभागले नछुट्याएका कारण पनि लगानीकर्ता लगानी गर्न हिच्किचाएका उनले बताए ।
नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्षसमेत रहेका पौडेलले पुँजीबजार राजस्व संकलनको राम्रो आधार भएको बताए । पुँजीबजार उच्च बिन्दुमा भएको बेला १४ अर्ब राजस्व राज्यले पाएको तथ्यांक उनले पेस गरे ।
पुँजीबजार बढ्दा राजस्व बढ्ने र लाखौं लगानीकर्ताको मुहारमा मुस्कान छाउने भए पनि बुझाउन नसकिएको उनको भनाइ छ । नियामक निकाय र नीति निर्माण गर्ने तहले यो विषय बुझ्न नचाहेको तर्क उनले गरे ।
कार्यक्रममा पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सेयर धितो कर्जाको सीमा १२ बाट १५ करोड पुग्दा अंक मात्रै बढेको तर उत्साह नबढेको बताएकी छन् । उनले सेयर लगानी शिक्षा देशव्यापी बनाउन आग्रह गरिन् ।


प्रतिक्रिया