![](https://internal.appharu.com/wp-content/uploads/2023/10/rabi_oli-768x403.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टीको नीति मन्थन कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन् ।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा सोमबार ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दललाई भोट दिने जनता पनि कस्ता ? भन्ने अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेता भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा र हरेक क्षेत्रको इन्डिकेटरहरुलाई रेडमा पुर्याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने ? तपाईंकै नेतालाई भोट हालिरहने ? ती भोटरचाहिँ कस्ता ? भनेर प्रश्न गरेका हुन् ।
‘हामीलाई माया गर्ने र सद्भाव राख्ने जनता कस्ता होइनन्, आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा र हरेक क्षेत्रको इन्डिकेटरहरुलाई रेडमा पुर्याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने ? तपाईंकै नेतालाई भोट हालिरहने ? ती भोटरचाहिँ कस्ता ? यो प्रश्न म गर्न चाहन्छु,’ लामिछानेले भने, ‘जनताले एउटा आशा र अपेक्षासहित नयाँ मानिसलाई हेरौँ न भनेर हामीलाई ह्वारह्वार्ती भोट दिएको पनि होइन । उपनिर्वाचनबाट २१ सिट पुर्याएका त हौँ नि ! जनताको चेतनालाई चुनौती दिने हाम्रो हैसियत पनि छैन ।’
सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा-चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए ।
SHARE YOUR THOUGHTS