नेपालसँग आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री महत « Eglish Khabarhub

नेपालसँग आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री महत


१५ कार्तिक २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोत आवश्यक रहेको र त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् ।

बेलायतस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनमा अर्थमन्त्री महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको पनि जानकारी गराए ।

चालु आर्थिक वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य गरेको उनले बताए । अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिँदै उनले आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे

राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लन्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतहरुमार्फत नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताए ।

नेपालले विद्युत व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेशसमेत निर्यात गर्न तयारी गरेको जानकारी गराउँदै उनले नेपालको जलविद्युतबाट नेपालमात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने धारणा राखे । 

कार्यक्रममा सिटी अफ लन्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले वित्तीय स्रोत तथा जोखिम बहन गर्ने बीमा कम्पनीहरु प्रशस्त रहेकाले नेपालको दिगो विकासका लागि सहयोग रहने प्रतिबद्धता जनाए ।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत नेपालमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको स्पष्ट पारे । नेपालको अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन बेलायतको निरन्तर सहयोग रहने उनको भनाइ छ ।

बेलायत-नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल-बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको जानकारी गराए । यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १.५ बिलियन पाउन्ड (२ खर्ब ४३ अर्ब रुपैयाँ) सम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिए ।

विशेष गरी नेपालको नवीकरणीय ऊर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्र्याउनेबारेमा केन्द्रित सम्मेलनमा नवीकरणीय ऊर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा उक्त क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग  छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो । शिक्षा क्षेत्रमा नेपालमा रहेका अवसरका बारेमा ब्रिटिस कलेजका अध्यक्ष राजन कँडेलले धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए । लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण भएको हुँदा विदेशी लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रको तर्फबाट आग्रह गरे ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा  लगानीका अवसरका बारेमा जानकारी दिँदै नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे ।

ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका प्रबन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फन्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा आफूहरुले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको औंल्याए ।

सम्मेलनमा नेपालमा लगानी गरिरहेका विकास वित्तीय संस्थाहरुको तर्फबाट इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले विकास वित्तीय संस्थाहरुको लगानीका बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपाल सरकार र नेपालमा लगानी गरिरहेका ६ विकास वित्तीय संस्थाहरु- ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्यान्ड, बायो, बेल्जियम, फिनफन्ड, फिनल्यान्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम र स्विट्जरल्यान्डबीच नेपालमा विकास वित्तीय संस्थाहरुको लगानी सहजीकरण गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा मन्त्री महत र हिन्दुजा ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष जीपी हिन्दुजाबीच नेपालमा लगानी भित्र्याउने विषयमा वार्ता भएको थियो ।

सम्मेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरु, बीमा कम्पनीहरु, बेलायत लगायत युरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधि, व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारी, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरुलगायत करिब सय जनाको उपस्थिति थियो ।

नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धीमा हस्ताक्षर भएको सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लन्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  १२ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping