धादिङमा सुरु भयो १३ सय वर्ष पुरानो गंगाजमुना जात्रा « Eglish Khabarhub

धादिङमा सुरु भयो १३ सय वर्ष पुरानो गंगाजमुना जात्रा



धादिङ । धादिङको गंगाजमुना झरना धार्मिक तथा पर्यटकीय रुपले परिचित स्थल हो । यस झरनामा वर्षौंदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गंगाजमुना माईको दर्शन गर्न उल्लेख्य संख्यामा आउने गर्छन् ।

धादिङको उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ । गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । यस वर्ष बुधबार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरेका छन् ।

तेह्र सय वर्षअगाडि गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट ‘हामी यहीँ सुरक्षित छौँ, हाम्रो यहीँ पूजापाठ गर्नुहोला’ भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको मेला सुरु भएको किंम्बदन्ती छ ।

गंगाजमुना गाउँपालिका ५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छन् । तीन सय मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर कामना गर्ने चलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ ।

एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान गंगाजमुनाको दर्शन गरी फर्किने चलन छ । गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास छ ।

भक्तजनले गंगाजमुना कुण्डमा नुहाउँदा रोगव्याधी निको हुने तथा परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहेको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताए ।

गंगाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको घुइँचो लाग्छ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि  कुकुरधारोमा नुहाउने चलन छ ।

मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौँलगायत ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् । सिंहबहादुर तामाङ भन्छन्, ‘एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ-आफ्नो वेशभूषा र पहिरनअनुसारको कला देखाउँछन् । बिहान झरनामा स्नान गरी पूजापाठ गरेर फर्कन्छन् ।’

यो जात्रा धादिङको गंगाजमुना गाउँपालिकास्थित फूलखर्कमा छ । यहाँबाट घाम अस्ताएको र उदाएको दृष्य निकै रोमाञ्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ । लंगुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो ।

हरिबोधनी एकदशीमा भगवान विष्णु एवं नारायणको पूजा हुने गरे पनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण र आकर्षक भए पनि त्यस ठाउँसम्म पुग्न सडकको असुविधा छ ।

सडकको सुविधा हुनसके विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ ।

Publish on: