काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् ।
भक्तपुरस्थित प्रसाईंको घरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर बाहिर निस्कन नदिएको हो ।
‘प्रसाईंको आजको कार्यक्रमका लागि स्थान तय नभएकाले उहाँलाई घरमै सुरक्षा दिइएको हो’ भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन्, ‘उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएको तीनकुने क्षेत्रमा कार्यक्रम गर्छौं भनेकाले अर्को स्थान तय नभएसम्मका लागि निस्कन नदिइएको हो ।’
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं नेतृत्वको अभियानलाई बल्खुको सट्टा तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको बताएको थियो ।
बिहीबार बल्खुको कार्यक्रमपछि प्रसाईंले आयोजना गरेको पत्रकारसम्मेलनमा निषेधित क्षेत्र तोड्ने गरी शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
तर, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा र अमनचयन विथोल्ने मनसायले प्रसाईंले कार्यक्रम सार्वजनिक गरेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भएमात्रै उपयुक्त स्थान उपल्बध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रसाईं नेतृत्वको अभियानले बिहीबारबाट काठमाडौं केन्द्रीत तीन दिने प्रदर्शनको घोषणा गरेको थियो ।
SHARE YOUR THOUGHTS