लक्ष्मी सनराइज बैंक वित्त क्षेत्रकै ठूलो योगदानकर्ता, १४ कम्पनी सम्मानित « Eglish Khabarhub

लक्ष्मी सनराइज बैंक वित्त क्षेत्रकै ठूलो योगदानकर्ता, १४ कम्पनी सम्मानित



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले बैंक, वित्त तथा बीमा क्षेत्रबाट सबैभन्दा बढी योगदानकर्ता श्रमिक आबद्ध गराउने लक्ष्मी सनराइज बैंकलाई सम्मान गरेको छ । कोषमा वित्त क्षेत्रबाट सबैभन्दा बढी योगदानकर्ता श्रमिक आबद्ध गराएको आधारमा वित्त क्षेत्रबाट पहिलो नम्बरमा लक्ष्मी सनराइज बैंक परेको हो ।

कोषका अनुसार लक्ष्मी सनराइजबाट १४ सय ९ कर्मचारी आबद्ध छन् । कोषले सोमबार छैटौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बढी रकम जम्मा गर्ने रोजगारदातामा पनि वित्त र बीमा क्षेत्रबाट लक्ष्मी सनराइन नै पहिलो बनेको जनाएको छ ।

कोषले मानव संसाधन आपूर्ति क्षेत्रबाट गरुड सेक्युरिटी प्रालिलाई सम्मान गरेको छ । उक्त कम्पनीबाट ४ हजार ६६३ योगदानकर्ता कोषमा आबद्ध छन् । सूचना प्रविधि तथा सञ्चार क्षेत्रबाट स्प्राउट टेक्नोलोजी सर्भिस प्रालि परेको छ । कम्पनीबाट ३ हजार ४० श्रमिकले कोषमा योगदान गरिरहेका छन् । कम्पनी बढी रकम जम्मा गर्ने रोजगारदातामा पनि परेको छ ।

उत्पादनमूलक क्षेत्रबाट अरिहन्त मल्टिफाइबर सम्मानित भएको छ । कोषमा कम्पनीका २७ सय ४६ श्रमिक आबद्ध छन् । मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रबाट नोबल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल बढी योगदानकर्ता रहेको संस्था बनेको छ । संस्थाका ९४८ श्रमिकले कोषमा योगदान गरिरहेका छन् ।

त्यसैगरी, थोक तथा खुद्रा बिक्री क्षेत्रबाट टाटाको गाडी बेच्ने सिप्रदी ट्रेडिङ सम्मानित भएको छ । कोषमा कम्पनीका ६७१ श्रमिक आबद्ध छन् । त्यस्तै शिक्षा क्षेत्रबाट युनिभर्सल  इन्स्टिच्युट अफ एड्भान्स स्टडिज एन्ड रिसर्च सेन्टर परेको छ । कोषमा सेन्टरका ४३८ जनाले नियमित योगदान गरिरहेका छन् । अन्य सहायता क्षेत्रबाट इन्फोटेक सर्भिस प्रालिका २२ सय ६५ श्रमिक आबद्ध रहेको कोषले जनाएको छ ।

कोषअनुसार आव २०७९/८० मा सबैभन्दा बढी रकम जम्मा गर्ने रोजगारदातामा सूचना प्रविधि तथा सञ्चार क्षेत्रबाट कोटिभिटी नेपाल प्रालि पहिलो बनेको छ । त्यस्तै, अन्य सामाजिक कार्यबाट गोर्खा वेलफेयर ट्रस्ट नेपाल, सामाजिक कार्य क्षेत्रबाट सेभ द चिल्ड्रेन, उत्पादनमूलक क्षेत्रबाट रिलायन्स स्पिनिङ मिल र थोक तथा खुद्रा बिक्रीबाट दराज क्यामु प्रालि रहेको छ ।

केन्द्रीय तथ्यांक विभागको औद्योगिक क्षेत्र वर्गीकरण (२१ क्षेत्रहरु) मध्ये कोषको कुल आबद्धतामा कम्तीमा ५ प्रतिशत श्रमिक रहेका क्षेत्र छनौट गरिएको थियो । छनौट हुनेमा ८ वटा क्षेत्र छन् ।

छनौटमा परेका क्षेत्रबाट आव २०७९/८० मा सबैभन्दा धेरै योगदानकर्ता सूचीकृत एक रोजगारदाता र सबैभन्दा धेरै योगदान रकम जम्मा गर्ने एक रोजगारदाता छनौट भएका छन् ।

त्यसमध्ये लक्ष्मी सनराइज र गरुड सेक्युरिटी धेरै योगदानकर्ता आबद्ध हुने र धेरै रकम जम्मा गर्ने दुवैमा परेका छन् । कोषले यी दुईसहित १४ कम्पनीलाई छनोट गरी सम्मान गरेको हो ।

यसबाहेक सबैभन्दा बढी योगदानकर्तालाई सेवा प्रदान गर्ने १० वटा स्वास्थ्य संस्था र श्रमिक सूचीकरणको लागि सेवा सम्झौता गरेका ८ वटा स्थानीय तहलाई पनि प्रशंसा पत्र प्रदान गरिएको कोषले जनाएको छ ।

Publish on: