हायर पर्चेज कर्जाको पेनाल ब्याजदर २%, २५ लाखभन्दा बढी कर्जा प्रवाह गर्दा पान अनिवार्य « Eglish Khabarhub

हायर पर्चेज कर्जाको पेनाल ब्याजदर २%, २५ लाखभन्दा बढी कर्जा प्रवाह गर्दा पान अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुले लिने वार्षिक पेनाल ब्याजदरमा अधिकतम २ प्रतिशतको सीमा तोकिदिएको छ ।

राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था २०७० लाई चौथोपटक संशोधन गर्दै हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याजबाहेक अन्य शुल्क तथा दस्तुर लिन नपाउने पनि जनाएको छ । यसअघि पेनाल ब्याजदर तोकिएको थिएन ।

साथै, हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाह गर्दा ऋणीसँग स्थायी लेखा नम्बर (पान) अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । २५ लाख वा सोभन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट भने स्थायी लेखा नम्बर लिन अनिवार्य नहुने व्यवस्था संशोधनमा गरिएको छ ।

त्यसैगरी यसभन्दा अघि त्रैमासीक विवरण बुझाउने समय ३० दिन भएकोमा घटाएर १५ दिनमात्र कायम गरेको पनि राष्ट्र बैंकले जनाएको छ ।

संशोधित व्यवस्थाअनुसार कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ । साथै, पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न पनि पाइने छैन ।

राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीका सञ्चालकका सन्दर्भमा थप व्यवस्था गर्दै कम्पनीको नामको पछाडी प्रालि वा लि अनिवार्य राख्नुपर्ने व्यवस्था पनि गरेको छ । यसअघि सञ्चालनमा रहेका हायर पर्चेज कर्जा दिने कम्पनीले समेत नाम परिवर्तन गरी राष्ट्र बैंकलाई २०८० पुस मसान्तभित्र जानकारी गराउनुपर्ने संशोधनमा उल्लेख छ ।

नयाँ व्यवस्थाअनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्याता तोक्दै स्नाकोत्तर उपाधि कायम गरिएको छ भने सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुखका लागि अयोग्य हुने अवस्थासमेत उल्लेख छ ।

प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भई नसकेको व्यक्ति सञ्चालक, प्रबन्धक तथा प्रमुख कार्यकारी हुन अयोग्य हुनेछ ।

टाट पल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको, कालोसूचीमा समावेश भएको वा त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगेको व्यक्ति हायर पर्चेज कर्जा दिने कम्पनीको सञ्चालक, प्रमुख कार्यकारी वा प्रबन्धक हुन सक्दैन ।

नयाँ व्यवस्थाले बैंकबाट निलम्बन भएको वा शंकास्पद कारोबारमा संलग्न भनी किटान गरिएको वा त्यस्तो निलम्बनवाट फुकुवा भएको पाँच वर्ष नपुगेको वा त्यस्तो शंकास्पद कारोबारको संलग्नताबाट सफाइ नपाएको व्यक्तिसमेत सञ्चालक, प्रमुख कार्यकारी वा प्रबन्धक हुन नसक्ने जनाएको छ ।

Publish on: