काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका तीन बहुराष्ट्रिय कम्पनीसहित ८८ कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्पष्टीकरण सोधेको छ ।
पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले समयमै वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ मा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले धितोपत्र बोर्डमा वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था छ ।
बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना किन नगर्ने भन्ने प्रश्न गर्दै १५ दिनभित्र जवाफ पेश गर्न भनेको छ ।
यस्तै बोर्डमा वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना किन नगर्ने भन्दै प्रश्न गरेको छ। कात्तिक २० गते सञ्चालक समितिको बैठकले ८८ सूचीकृत कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि बोर्डले १५ दिनको समय दिँदै स्पष्टीकरण पत्र पठाएको छ ।
बोर्डका अध्यक्ष रमेश हमालले समयमा वित्तीय विवरण नबुझाएको आधारमा पहिलो पटक स्पष्टीकरण सोधिएको जानकारी दिए। ‘एक दिन ढिला वित्तीय विवरण बुझाउनेलाई पनि हामीले स्पष्टीकरण सोधेका छौं,’हमालले भने, ‘बोर्डमा जवाफ पेस गरेपछि कानुन अनुसार कारबाही हुन्छ ।’
धितोपत्र बोर्डले बहुराष्ट्रीय कम्पनीलाई समेत स्पष्टीकरण सोधेको छ । कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले ढिलो वित्तीय विवरण बुझाएपछि स्पष्टीकरण सोधिकएको हो ।
यस्तै स्टक एक्सचेन्जमा प्रतिकित्ता सबैभन्दा धेरै मूल्य भएको युनिलिभर नेपाल लिमिटेडलाई समेत स्पष्टीकरण सोधिएको छ । अर्को बहुराष्ट्रीय कम्पनी सोल्टी होटललाई समेत स्पष्टीकरण सोधिएको हो ।
बोर्डले नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सलाई समेत समयमा विवरण नबुझाएको भन्दै स्पष्टीकरण सोधेको छ । गरिमा विकास बैंक, बेस्ट फाइनान्स, माउन्टेन हाइड्रो, समाज लघुवित्त,नेपाल रि इन्स्योरेन्स लगायत १८ कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै स्पप्टीकरण सोधिएको बोर्डले जनाएको छ ।
SHARE YOUR THOUGHTS