
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले लगाएको आरोपको नेपाल वायुसेवा निगमले खण्डन गरेको छ ।
युरोपियन कमिसनले बिहीबार नेपाललाई उडान सुरक्षा चासो (कालोसूची) बाट नहटाएपछि प्राधिकरण महानिर्देशक अधिकारीले पत्रकार सम्मेलन गरी निगमका कारण नेपाल सुरक्षा चासोबाट नहटेको बताएका थिए ।
सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीलाई युरोपको आकाश प्रयोगमा रोक लगाएको छ । उडान सुरक्षामा प्राधिकरणले पर्याप्त काम गर्न नसकेको र सेवाप्रदायक र नियामकको काम एकै निकायले गरिरहेको भन्दै कमिसनले नेपाललाई सुरक्षा चासोमा राख्दै आएको छ ।
महानिर्देशक अधिकारीले यसपटक नेपाल सुरक्षा चासोबाट हट्ने प्रधानमन्त्रीलगायत उच्च नेतृत्वलाई ब्रिफिङ गर्दै आएका थिए । तर, कमिसनले उडान सुरक्षामा पर्याप्त काम नगरेको भन्दै प्रतिबन्धलाई निरन्तरता दिएपछि आफ्नो बचाउ गर्न उनी निगममाथि खनिएका थिए ।
निगमका प्रवक्ता रमेश पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै महानिर्देशक अधिकारीले लगाएको आरोप भ्रमपूर्ण भएको बताएका छन् । नेपाललाई ईयूले सुरक्षा चासोबाट निगमको कमजोरीका कारण नहटाएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS