काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबारको बैठकले ढकाललाई सीईओ नियुक्त गरेको हो ।
बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा लामो अनुभव हासिल गरेका ढकाल यसअघि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
चार्टर्ड एकाउन्टेन्ट ढकालले डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् ।
एनआईसी एसिया क्यापिटल र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष भइसकेका उनी हाल ज्योति क्यापिटल लिमिटेडको पनि अध्यक्ष छन् ।
नवनियुक्त सीईओ ढकालको कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा कम्पनीलाई थप सबल, ग्राहकमैत्री र सुदृढ संस्थाको रुपमा स्थापित गर्ने विश्वास बैंकले लिएको छ ।
खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
SHARE YOUR THOUGHTS