![](https://internal.appharu.com/wp-content/uploads/2023/12/nrb-pressmet-768x403.png)
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा सोचे अनुसार कर्जा प्रवाह नहुँदा ब्याजदर करिडोरको सिद्धान्तमा केही लचिलो भएको बताएका छन् ।
मौद्रिक नीतिको पहिलो समीक्षा सम्बन्धमा जानकारी दिए शुक्रबार आयोजित पत्रकार सम्मेलन अधिकारीले अन्तर बैंक ब्याजदर निक्षेप संकलन दरभन्दा कम हुँदा समेत बजार चलायमान बनाउने अपेक्षा नीतीगत प्रतिबद्धताबाट केही डेभिएट भएको बताए ।
‘धेरै लामो समय हामी ब्याजदर करिडोरभित्र अन्तर बैंक ब्याजदर कायम राख्न सफल भएका थियौं,’ अधिकारीले भने,‘तर, पछिल्लो डेढ महिनादेखि अन्तर बैंक ब्याज केही घटेको छ । पछिल्लो समय हामीले बजारबाट ब्याज तिरेर पैसा उठाउन सुरू गरेका छौं । बजारबाट उठाएको ७० अर्ब रुपैयाँ आउटस्ट्यान्डिङ छ । हामी ब्याजदर करिडोर गर्न प्रतिबद्ध छौं ।’
कार्यक्रममा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठले ३ प्रतिशत रहेको निक्षेप संकलन दरको सीमाभित्र अन्तर बैंक ब्याजदर रहने बताए । ‘अब ३ प्रतिशत रहेको अन्तर बैंक निक्षेप संकलन दर ब्याजदरमा निक्षेप संकलन हुन्छ’ श्रेष्ठले भने ।
कार्यक्रममा गभर्नर अधिकारीले कयौं संस्थाले कारोबार गर्न कठिन भएको भनेर दिएको सुझावको आधारमा आन्तरिक रेमिट्यान्स खुला गर्न लागिएको बताए । ‘केही स्वदेशी र विदेश संस्थाले समेत आन्तरिक रेमिट्यान्स खुला गर्नुपर्ने सुझाव दिएका छन्,’अधिकारीले भने,‘१० देखि १५ हजार रुपैयाँ खुला गर्न सकिन्छ कि भन्ने हाम्रो सोच हो । हामी अध्ययन मै छौं ।’
डिभेन्चरलाई निक्षेप वा पुँजी एउटामा मात्र गणना गर्न दिने विषयमा राष्ट्र बैंकभित्र व्यापक छलफल भएको अधिकारीले बताए ।
‘पुसमसान्तको सीमा बढाउनु हुन्छ वा हुँदैन भन्ने विषयमा व्यापक छलफल भयो । हामी नीतिगत स्थायित्व दिनु पर्छ भन्नेमा सचेत छौं,’ अधिकारीले भने,’अहिले डिभेन्चरको १ खर्ब डिपोजिटमा पनि गणना भएको छ । एकै पटक निक्षेप वा पुँजी गणना गर्न दिइयो भने ह्वात्तै निक्षेप घट्यो भनेर तपाईंहरुले नै लेख्नु हुन्छ । हामीहरूले अहिले ५० प्रतिशत हटाएका छौं । क्रमशः थप हटाउँदै जान्छौं ।’
SHARE YOUR THOUGHTS