![](https://internal.appharu.com/wp-content/uploads/2023/12/Kewal-bhandari.jpg)
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसकिने बताएका छन् ।
मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आइतबार सचिव भण्डारीले नेपालबाट वैदेशिक रोजगारीका लागि विभिन्न खाडीलगायत मुलुकमा फ्रि भिसा फ्रि टिकटमा पठाउन नसकिने स्पष्ट पारेका हुन् ।
योग्यता, क्षमता र सीप भएका श्रमिकको माग गर्दा नै त्यो देशका एजेन्सीहरुले आवश्यक कमिसन लिने गरेको उनले बताए । श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्रि भिसा फ्रि टिकटमा श्रमिक पठाउन नकिने देखिएको उनको स्पष्टोक्ति छ ।
सचिव भण्डारीले सरकारले फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको उल्लेख गरे । ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि करिब १२ हजार खर्च हुने मापदण्ड बनाएकाले १० हजारमा श्रमिक पठाउन सकिने स्थिति छैन,’ भण्डारीले भने, ‘श्रमिकको एक महिनाको पारिश्रमिक बराबर सेवा शुल्क म्यानपावरले लिन पाउने र सीपयुक्त श्रमिकबाट फरक सेवा शुल्क लिनसक्ने गरी मन्त्रालयले छलफल गरिरहेको छ ।’
अभिमुखीकरण तालिम दिन्छु भनेर खोलिएका संस्थाले तालिम नदिए तत्काल खारेज गर्ने उनले बताए । मन्त्रालयले अनुगमनका क्रममा धेरै संस्थाले तालिम नदिएको पाएकाले त्यस्ता संस्थाहरु खारेज गर्न लागेको उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ । यो वर्ष नेपालले आप्रवासी र आश्रित परिवारको संरक्षण, महिला आप्रवासी श्रमिकको सम्मान गर्न लैंगिक विभेदको अन्त्य, आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिइएको छ ।
SHARE YOUR THOUGHTS