![](https://internal.appharu.com/wp-content/uploads/2023/12/bidhut1.png)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि धमाधम उद्योगहरुमा बिजुलीको लाइन काटिरहेको छ । प्राधिकरणका प्रमुख कुलमान घिसिङले प्रमाणबिनै पठाएको बिल उद्योगीहरुले अस्वीकार गरेपछि लाइन काटेका हुन् ।
विद्युत प्राधिकरणले पाँच दर्जन उद्योगहरुले ट्रंक र डेडिकेटेडलाइन प्रयोग गरेको दावी गरेपनि त्यसको प्रमाण (टिओडी मिटरको तथ्यांक) दिन भने सकेको छैन । तर, प्रमाण दिन नसकेका कुलमान धमाधम लाइन काटिरहेका छन् ।
शुक्रबार ४ उद्योगको लाइन काटेको प्राधिकरणले आइतबार ५ उद्योगको लाइन काटेको छ । र, सोमबार पनि केही उद्योगको लाइन काटिने प्राधिकरणले जनाएको छ । शुक्रबार १ अर्ब बढी बक्यौता रहेका ४ उद्योगको लाइन काटेको प्राधिकरणले आइतबार ५० करोड रुपैयाँ बढी बक्यौता भएका उद्योगको बिजुली काटिएको हो ।
अहिलेसम्म लाइन काटेका ९ उद्योगले ११ अर्ब ७७ करोड १७ लाख रुपैयाँ तिर्नुपर्ने प्राधिकरणको दावी छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शंकर समूहको जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानको लगानी रहेको रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब ९४ करोड, त्रिवेणी ग्रुपको लगानी रहेको घोराही सिमेन्टको १ अर्ब ३६ करोड, पशुपति मुरारकाको लगानी रहेको अर्घाखाँची सिमेन्टको १ अर्ब ३० करोड रुपैयाँ बक्यौता छ।
प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको छ।
त्रिवेणी स्पिनिङ मिल्सको ८६ करोड ९० लाख, अशोक स्टिलको ७४ करोड ५० लाख, लक्ष्मी स्टिलको ७४ करोड १० लाख र सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख, ६१ करोड २० लाख रुपैयाँ बक्यौता छ ।
SHARE YOUR THOUGHTS